सुदूरपश्चिममा थपिए ११९ कोरोना संक्रमित, संक्रमितको संख्या ८ हजार पुग्यो
2020/10/07, 5:56
 
korona

सुदूरपश्चिम प्रदेशका थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको कोरोना परीक्षण भएकोमा एक सय १९ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्रै ४१ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन/तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै टीकापुर नगरपालिकाका १० जना, गोदावरी नगरपालिका वडा नम्वर १ का दुई जना र भजनी नगरपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टका अनुसार दार्चुलाका ४६ जना र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको हो। 

दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हुन्। सशस्त्र प्रहरी जवानदेखि सहस्त्र प्रहरी नायव निरिक्षकसम्मका ४५ जनामा संक्रमण पुष्टि भएको हो। उता जिल्ला अस्पताल बझाङको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना परीक्षण भएकोमा दुई जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु थलरा गाउँपालिकाका हुन्।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार पुगेको छ। संक्रमण पुष्टि भएका ६ हजार ६ सयले कोरोना जितेका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ।