पाठ्यपुस्तक लगायत बापत निजि स्कुललाई मोटो कमिसन, प्याब्सनले भनेको किताब लगाउन उर्दी दिएपछि हंगामा
2020/10/08, 8:13
 
pustak

कैलालीका निजी विद्यालयले कमिसनका आधारमा अभिभावकलाई वर्षैपिच्छे फरकफरक पब्लिकेशनका पुस्तक खरिद गर्न लगाउँछन् । जुन पब्लिकेशनले बढी कमिसन दिन्छ त्यसैको किताव किन्न लगाएर विद्यालय संचालकले अभिभावकमाथि अनावश्यक व्यायभार थुप्रन्छन् । यस वर्ष निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धनगढीले नै उक्त कुरा वाहिर ल्याएको छ । संगठनले निर्णय गरेको पब्लिकेशनको कम्प्यूटर विषयको किताव छनौट नगर्ने विद्यालयलाई प्याब्सनले जरिवाना गरेको छ । 

प्याब्सनले आफुसँग आवद्ध विद्यालयले अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्यूटर विषय पढाउनुपर्ने उर्दि जारी गरेको थियो । उक्त उर्दि नमान्ने विद्यालयलाई १० हजार देखि ५ ० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्याब्सनले निर्णय गरेको छ । उर्दि नमान्ने विद्यालयलाई जरिवाना बुझाउन भन्दै प्याब्सनले जरिवाना नबुझाउने विद्यालयलाई कडा कारवाही गर्ने चेतावनी सहितको धम्कीपूर्ण पत्र पठाएको छ । 

प्याब्सनको सो धम्कीपूर्ण पत्र सामाजिक संजालबाट बाहिरिएपछि चर्को आलोचना भैरहेको छ । प्याब्सनले कमिसनको खेलमा कितावमा सिन्डिकेट लगाएर अभिभावकमाथि लुट मच्चाएको भन्दै सरोकावालाहरुले चौतर्फी विरोध गरिरहेका छन् । प्याब्सनको सो कार्यको स्वयम् नीजि विद्यालयका संचालकहरुले समेत विरोध गरेका छन । 

प्याब्सन उर्दी नमान्दा १० हजार रुपैयाँ जरिवाना तोकिएको दि गार्डनर स्कुलका संस्थापक प्रिन्सिपल कैलाश दाहालले यसमा संलग्न ब्यवसायी देखि समितिका पदाधिकारीलाई कानुनी कारवाही हुनुपर्ने बताए ।  प्याब्सनले ग्यालेक्सी माविलाई ३० हजार तथा एरिष्टो माविलाई ४० हजार र स्टेपिङ स्टोन स्कुललाई ५० हजार जरिवाना तोकेको छ ।

नीजि विद्यालयका संचालकहरुले कमिसनकै कारण वर्षेनी नयाँ प्रकाशनका कितावहरु पढ्न लगाउने गरेको भन्दै सामाजिक अभियान्ता भदन भट्टले अभिभावकलाई लुटेर खाने माफियाहरुलाई कारवाही हुनुपर्ने बताए । कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक सीताराम भट्टले प्याब्सनले आफ्नै अपमान हुने गरी उर्दी जारी गरेको बताए । यसरी उर्दी जारी भएका किताव गुणस्तरहिन समेत हुन सक्ने भन्दै उनले विद्यालय आफैंले  स्वविवेकले  छनौट गर्ने अधिकारको हनन् भएको बताए ।

आफूले यसरी उर्दी जारी भएका सामाजिक शिक्षा लगायतका पुस्तकहरू  अत्यन्त स्तरहीन पाएको समेत उनले बताए । स्टेपिङ स्टोन स्कुलले नै प्याब्सनको यो निर्णय बाहिर ल्याएको हो । प्याब्सनले स्टेपिङका संचालक रामजी हमाललाई संगठनको नियम विपरित काम गरेको भन्दै निलम्बन गरेको छ । प्याब्सन धनगढीका अध्यक्ष पदमवहादुर सावदले संस्थाको निर्णय पालन नगर्नेलाई कारवाही गर्न पत्र पठाएको बताए ।

उनका अनुसार ९ वटा विद्यालयले सो पुस्तक लगाउन अटेरी गरेका थिए । जसमध्ये ७ वटा विद्यालयले लगाउने सहमति जनाइसकेका छन् । दुई वटा विद्यालयले भने किताब लगाउन मानेका छैनन । प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेसनले प्रायोजन गरे वापत स्कुलहरुमा कम्प्युटर किताब लगाउने सहमति गरेको खुलेको छ ।

कैलालीमा हरेक वर्ष पब्लिकेशनको अफरको आधारमा परिवर्तन हुने गरेको छ । एक विद्यालय संचालकले भने,‘पब्लिकेशनले आकर्षित अफर दिए हामीले त्यही छनौट गरी अभिभावकहरुलाई खरिद गर्न लगाउने गरेका छौं ।’ ती सञ्चालकले जुन विद्यालयले संगठनको निर्णय मान्दैन त्यसलाई सोही अनुरुप कारवाही पनि हुने गरेको बताए । प्याब्सन धनगढीमा ५३ वटा विद्यालय आवद्ध छन् ।