गएको वर्ष कैलालीको बर्दगोरिया गाउँपालिकाकी नानु (परिवर्तित नाम) ले १५ वर्षको उमेरमा छिमेकी गाउँका २० वर्षे युवकसँग विवाह गरिन् । उनले भागेर विवाह गरेकी थिइन् । तर, यति कम उमेरमै विवाह गर्न मन नभए पनि बाध्य बनेको उनले सुनाइन् । कक्षा ८ मा पढ्दै गरेका बेला नानुलाई ती युवकले मन पराए, र विवाह गर्न कर गर्न थाले ।
उनको आमा बुवालाई युवकले विवाहका लागि फकाउने निकै कोशिश गरे, तर अभिभावक मानेनन् । एक वर्ष अघिको घटना सम्झँदै उनले भनिन्, “आमा बुवा विवाहका लागि राजी नभएपछि अनेक धम्की दिन थाल्यो । आफूसँग विवाह नगरे तेरो चरित्रमा खोट देखाइदिन्छु, फेसबूकमा बेइज्जती गरिदिन्छु भन्यो ।” धाकधम्कीले डराएकी नानुले कतै उजुरी गर्ने आँट गरिनन् । अन्ततः ‘इज्जत जाने डरले’ त्यही केटासँग २८ कात्तिक २०७६ मा भागेर विवाह गरिन् ।
नानुले शिक्षालाई प्राथमिकतामा राखेकी थिइन् । विवाहपछि पनि उनको पढाइलाई निरन्तरता दिने दुवैबीच सहमति भएको थियो । तर, विवाहपछि उनी विद्यालय जान पाइनन् । त्यही विषयमा उनीहरूबीच झगडा हुन थाल्यो । उनले पढ्न नपाए विवाह तोड्ने अडान लिइन् । त्यसपछि श्रीमान्को कुटपिट र सासू–ससुराको गालीगलौज सहनुपरेको उनी बताउँछिन । शारीरिक र मानसिक यातना बढेपछि नानु घर छाडेर माइती आइन् । माइती आएको दुई महीनापछि श्रीमान् आएर माफी मागे । तर, उनी श्रीमान्सँग घर जान तयार भइनन ।
“सम्झौतामा पढाइ नपरेपछि माफी दिइनँ । उही बेला बेइज्जती गरिदिने धम्की विरुद्ध प्रहरीमा उजुरी गरेको भए आजको दिन आउँदैन थियो”, उनी पछुतो मान्छिन् । नानुको गाउँमा उनले जस्तै सानै उमेरमा विवाह गर्ने १० जनाभन्दा बढी बालिका छन । तीमध्ये अधिकांश बालिका आमा समेत बनिसके । सानै उमेरमा विवाह गर्दा बालिकाहरू शिक्षाबाट वञ्चित हुने, प्रजनन अधिकारबारे बेखबर रहेर स्वास्थ्यमा जोखिम निम्तिने र विभिन्न शारीरिक र मानसिक समस्याको चपेटामा पर्ने गरेका छन् ।
बालविवाह गर्ने आफ्नो कदममा पछुतो मानेकी उनी अब भने पढाइलाई कुनै हालतमा नछोड्ने सोचमा छिन् । माइतीघरमा बसेर पढिरहेकी उनी अहिले कक्षा ९ मा पढिरहेकी छिन् । कोरोना संक्रमण महामारीका कारण विद्यालय बन्द भएको समयलाई सदुपयोग गर्दै उनी सिलाइकटाइ पनि सिकिरहेकी छिन् ।
सोही गाउँकी १५ वर्षीया सुरेखा (नाम परिवर्तन) ले पनि दुई वर्षअघि २२ वर्षीय पुरुषसँग विवाह गरेकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण दुःखमा हुर्केकी उनले सुखले बस्न र खान पाउने आशामा १३ वर्षमै विवाह गरिन । तर, विवाहको दुई महीनापछि देखि नै श्रीमान्ले शारीरिक र मानसिक यातना दिन थाले । “असह्य भएपछि भागेर माइती गएँ, तर माइतीले सम्झाई बुझाई फेरि श्रीमान्को जिम्मा लगाइदिए”, उनले भनिन् । त्यसपछि पनि श्रीमानको कुटपिटको सिलसिला नरोकिएपछि सुरेखाले एक साथीसँग बह पोखिन । उनकी साथी किशोरी समूहकी सदस्य थिइन । उनको समस्याबारे समूहमा छलफल भयो र समूहमा आबद्ध किशोरीहरूले उनका आमाबुवालाई सम्झाए । त्यसपछि गाउँमा छलफल भएर उनी २० वर्षको भएपछि केटाको घरमा पठाउने शर्त दुवै पक्षलाई मञ्जुर भयो । सुरेखा माइती आइन्। तर, केटाले दुई महीना नबित्दै अर्को केटीसँग विवाह गरे ।
यसअघि विद्यालय नगएकी तर सामान्य साक्षर रहेकी सुरेखा किशोरी समूहकै पहलमा कक्षा ६ मा भर्ना भइन । पढ्न पाएपछि नयाँ जिन्दगी पाएको उनी बताउँछिन् । उक्त गाउँमा रहेको जगदम्बा भगवती माध्यमिक विद्यालयमा गठित परिवर्तनशील किशोरी समूहकी अध्यक्ष लक्ष्मी गौतमका अनुसार, पछिल्लो एक वर्षमा विद्यालयमा पढ्ने १३ जना किशोरीले १८ वर्ष नपुग्दै भागेर विवाह गरेका छन् । पछिल्लो बन्दाबन्दीकै अवधिमा १४÷१५ वर्षका तीन किशोरीले भागेर विवाह गरे । अध्यक्ष गौतम भन्छिन्, “स्कूल पढ्दा पढ्दै सानै उमेरमा धेरैले विवाह गरिरहेका छन्, तर कसैले पनि बालविवाहको उजुरी हाल्दैन । अभिभावकलाई सम्झाएर छोरी फिर्ता ल्याउनुस् भन्दा उल्टै हामीमाथि आइलाग्छन् । ”
कैलालीकै एक गाउँपालिकाकी एक किशोरी मुना (परिवर्तित नाम) को पनि कक्षा ९ मा पढ्ने क्रममा विद्यालयमा सँगै पढ्ने किशोरसँग प्रेम सम्बन्ध भयो। छोरीको सम्बन्धबारे थाहा पाएपछि आमाबुबाले केटालाई घरमा बोलाएर जबर्जस्ती विवाह गरिदिए । केटाको परिवारले २० वर्ष पुगेपछि विवाह गर्ने सुझाव दिए पनि आफ्नै आमा बुवा नमानेको किशोरीले बताइन । “बुवा आमाले मलाई बिग्रिसकेको र अरु केटाले विवाह गर्दैन भने, यो केटा धनी छ भनेर जबर्जस्ती विवाह गराइदिए ।”, उनले भनिन् ।
विवाहपछि दुवै जनाको पढाइ छुट्यो । छोरी पनि जन्मियो । कम उमेरमा विवाह गर्दा घर–परिवार व्यवस्थापन गर्न गाहे परेको र तनावका कारण श्रीमान् कुलतमा फसेको उनले सुनाइन् । उनी भन्छिन्, “जसरी हामीले बालविवाह गरेर दुःख पायौं, त्यसरी कसैले पनि दुःख नपाओस ।”
समाजमै गुपचुप राख्ने प्रवृत्ति
नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ । कसैले २० वर्ष उमेर नपुगी विवाह ग¥यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । यद्यपि गाउँ–समाजमा बाल विवाह रोकिन सकेको छैन ।
विश्वमा नेपाल बालविवाह दर उच्च हुने देशमध्ये पर्छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) को सन् २०१६ को प्रतिवेदनमा नेपालमा ३७ प्रतिशत बालिकाले १८ वर्षअघि र १० प्रतिशतले १५ वर्षअघि विवाह गर्ने गरेको उल्लेख छ । बन्दाबन्दीमा बाल विवाहको दर अझ बढेको कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष भगवती डगौरा थारुले बताइन् । उनका अनुसार, बन्दाबन्दीयता मासिक १० देखि १५ वटासम्म बालविवाहको मुद्दा स्थानीय तहको न्यायिक समितिमा आउने गरेको छ । तर, गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले इलाका प्रहरी कार्यायल सुखड पठाउने गरेको उनले बताइन । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले भने दुई वर्ष यता बाल विवाहको मुद्दा खासै दर्ता नभएको बताए । उनका अनुसार, बालविवाहको मुद्दा सबैभन्दा कम दर्ता हुने र धेरैजसो घटनामा सम्झाएर अभिभावकको जिम्मा लगाउने गरिन्छ ।
गाउँघरमा बालविवाह हुँदै आए पनि परिवार र समाजले नै गुपचुप राख्दै आएका छन् । विवाह गरिसकेपछि तोडेमा सामाजिक प्रतिष्ठामा आँच आउने र बदनामी हुने डरले सामसुम पार्ने प्रवृत्तिले प्रहरीसम्म कमै पुग्ने गरेको छ । प्रहरीमा पुग्ने घटनामा पनि मिलापत्र गराउने गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा आर्थिक वर्ष २०७६÷७७ मा बालविवाहको एउटा मुद्दा दर्ता भएको थियो भने २०७७÷७८ को भदौ मसान्तसम्म जम्मा दुई वटा मुद्दा दर्ता भएको छ ।
बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष थारुको बुझाइमा किशोरीहरू आफूखुशी भागी विवाह गर्ने समस्या बाहेक अभिभावकले पनि बालविवाह गराउन जोडबल गर्ने गरेका छन् । केटाकेटीबीच मित्रता र प्रेम सम्बन्ध हुँदा अभिभावकहरूले त्यसलाई विवाहमा परिणत गरिदिने गरेको उनको तर्क छ । बर्दगोरिया गाउँपालिकाले सामाजिक कुसंस्कारका रूपमा रहेको बालविवाह न्यूनीकरणका लागि भन्दै बाल संरक्षण समिति गठन गरेको छ । यस्तै, विभिन्न रेडियो कार्यक्रम र संघसंस्थासँगको सहकार्यमा सडक नाटक एवं जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालविवाहका कारण बालबालिकाहरू सुरक्षित वातावरणमा पढ्ने–लेख्ने अधिकारबाट वञ्चित हुनुका साथै उनीहरूको जीवन समेत बर्बाद हुने भएकाले यस विरुद्ध स्थानीय सरकार जुट्नुपर्ने अधिकारकर्मीहरू बताउँछन । बालविवाह अन्त्यका लागि विद्यालयको पाठ्यक्रममै यो विषय समेट्नुपर्ने तथा शिक्षक र अभिभावकहरूबीच पनि निरन्तर छलफल हुनुपर्ने उनीहरूको सुझाव छ । महिला अधिकारकर्मी वसन्ती चौधरी पनि बालबालिकाहरूलाई सामाजिक वातावरणले पनि सानै उमेरमा विवाह गर्न बाध्य बनाइरहेको बताउँछिन् । “उमेर बढ्दै जाँदा किशोर–किशोरीबीच विपरीत लिंगीप्रति स्वाभाविक आकर्षण हुन्छ, उनीहरूबीच प्रेम सम्बन्ध पनि हुन्छ” उनले भनिन्, “समाज र परिवारले भने संकुचित दृष्टिकोण राखेर उमेरको ख्यालै नगरी विवाह गराइदिन्छ, जसको मनोवैज्ञानिक, शारीरिक र सामाजिक असर महँगो पर्न जान्छ ।”