कार्यालय बन्द गरेर कर्मचारी पिकनिकमा मस्त, बिरोधमा गाउँपालिकामा तालाबन्दी
2020/10/09, 7:13
 
talabandi

पुर्बीचौकी गाउँपालिकाको कार्यालयमा शुक्रबार नेविसंघले तालाबन्दी गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरु कार्यालय समयमा जनताका कामलाई बेवास्ता गरि पिकनिक गएको भन्दै तालाबन्दी गरेको नेविसंघ पुर्बी चौकी गाउँपालिका इकाईका अध्यक्ष रेशम बिक्रम खड्काले जानकारी दिए ।

खड्काका अनुसार शुक्रबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटी, उपाध्यक्ष निर्मला साउँद, कार्यकारी अधिकृत टेक बहादुर खड्का लगायत कर्मचारीहरु अछामको कैलाश खोलामा पिकनिक खान गएका छन् । उनले जाने नै भएपनि बिदाको दिन सदुपयोग गर्नुपर्नेमा शुक्रबार पिकनिक जानु जनताप्रति जिम्मेवार नभएको आरोप लगाए ।

गाउँपालिकाका बिभिन्न गतिबिधीहरु नेविसंघले निगरानी राखिरहेको बताउदै खड्काले थुप्रै गल्ती कम्जोरीहरु सच्याउन आग्रह गर्दा पनि सुधार नभएपछि तालाबन्दी नै गर्न बाध्य भएको बताए ।

गाउँपालिकाको मिलोमतोमा दलित समुदायको उत्थानका लागि छुट्याएको १० लाख रकम भ्रष्टाचार गरेको प्रमाणित हुदा समेत कुनै कारबाही नगरिएको नेविसंघका नेता बिजयराज ओझाले आरोप लगाए । उनले जनतालाई सुसुचीत गर्नुपर्नेमा उल्टै कार्यालयका सवारीसाधनको दुरुपयोग गरेर पिकनिक खान जानु दुर्भाग्य रहेको बताए । फर्जि कागजात र बिल पेश गरेर गाउँपालिकाले दलित समुदायलाई कोरोनाका बेला बिभिन्न सहयोग गरेको भन्दै भुक्तानी दिएको थियो ।

पुर्बिचौकी गाउँपालिकाका योजना ,तालिम ,गोष्ठि, लगायतका कार्यक्रम पारदर्शी रुपमा गाउँपालिकाको क्षेत्र भित्रै हुनु पर्ने, भ्रष्टाचार आरोप लागेको विषयमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने, बिदा बाहेकका दिनमा कार्यालय सधैं सुचारु हुनुपर्ने र गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी गाउँपालिका बाहिर जानु पर्ने भएमा कार्यबाहक दिएर जानु पर्ने, सवारीसाधनको दुरुपयोग सुधार्नुपर्ने माग रहेको अध्यक्ष खड्काले बताए ।

पुर्बी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने आफु पिकनिकमा नभई अछामको साफेबगर आएको बताए । किन र कसरी तालाबन्दी गरेको हो त्यो बारेमा बुझेर सामाधन तर्फ लाग्ने उनले बताए । पिकनिक गए-नगएको बिषयमा सोधपुछ गर्न खोज्दा गाउँपालिकाका कार्यकारी टेक बहादुर खड्काको फोन भने रिसिभ भएन ।