गेटा मेडिकल कलेजमा २०८० भित्र एमबीबीएसको पढाई सुरु हुने
2020/10/11, 6:59
 
mediacal coolage

गेटा मेडिकल कलेजमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमती भएको छ।

२७ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतीमा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भईसकेको, अस्पताल भवन, छात्रबास भवन, कर्मचारी भवन लगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको भनिएको छ।

मन्त्रीपरिषद्मा रहेको एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विद्येयकलाई संघिय संसदको हिउँदे अधिवेशनमा पेश गरी ऐन जारी भएपछि पूर्वाधार र जनशिक्त पूरा गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम निर्धारित समयावधी २०८० को फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

सरकारले २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने २०७३ सालदेखि मात्रै सुरु गरिएको थियो। सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन विद्येयकको मस्यौदा बनाएको थियो। तर संविधानसभा विघटन भएपछि काम अगाडी बढ्न सकेको थिएन।