सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, स्थानीय तह धमाधम सिल
2020/10/12, 1:07
 
corona

धनगढी-  सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेको छ । स्थानीय तहहरुले कोरोना महामारीको बीचमा सेवा दिईरहेको अवस्थामा कर्मचारीहरुमा कोरोना पुष्टि हुन थालेको हो । कर्मचारीसँगै जनप्रतिनिधिहरुलाई पनि कोरोना देखिन थालेपछि स्थानीय तहहरु सिल गरिएका छन् । स्थानीय तहका कार्यालयहरुको सेवा पनि बन्द गरिएको छ । 

डडेल्धुराको अमरगढी नगरपालिकाका कर्मचारीमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि सिल भएको विशेश्वर प्रसाद ओझाले बताए । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ । ‘भरखरै अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको छ । अब सबै कर्मचारीको स्वाब संकलन गर्ने योजना रहेको छ ।’ उनले भने । 

कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि सेवा बन्द गरेको छ । कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाले सूचना प्रकाशन गर्दै विहिबारदेखि अति आवश्यक बाहेकको सेवा बन्द गरिएको जानकारी दिएको हो । नगरपालिकाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा ४२ जनाको स्वाब परिक्षण गरिएकोमा आठ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका मेयर जीवन थापाले जानकारी दिए ।

कर्मचारीमा कोरोना देखिएको भन्दै नगरपालिकाले अर्काे सूचना जारी नभएसम्मका लागि र वडा नम्बर २ को कार्यालयले २६ गते सम्मका लागि सेवा बन्द गरेका हुन् । अत्यावश्यक सेवा लिन कार्यालय आउनु परे सामाजिक दुरी लगायतका स्वास्थ्य मापदण्डहरु पालना गरि सेवा लिन सकिने सूचनामा भनिएको छ ।

उता डोटी जिल्लाकै पहिलो कोरोना मुक्त बडिकेदार गाउँपालिकामा पुनः कोरोना संंक्रमित देखिएको छ । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय सिल गरिएको छ । योसँगै पालिकाबाट प्रदान गरिँदै आएका सम्पूर्ण कामकाज बन्द गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा उच्च सर्तकता अपनाउँदै एक साताका लागि सिल गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर धामीले बताए ।

गाउँपालिकामा असोज ११ र १२ गते संकास्पद ४० जनाको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरी जाँचका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाएकोमा त्यहाँबाट प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत एक जना कर्मचारी सहित अन्य तीन जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । 

गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना संक्रमण भएपछि पिसिआर परीक्षण गर्न बाँकी सबै कर्मचारीहरुको  परीक्षण गरिने पालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । कोरोना सङ्क्रमण भएका कर्मचारी सहित अन्य तीन जना आइसोलेसनमा छन् । सो गाउँपालिकामा गएको वैशाखमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको र सबै निको भएपछि कोरोना मुक्त गाउँपालिका घोषणा गरिएको थियो ।

कैलाली जिल्लाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत १५ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि नगरपालिका तथा वडा कार्यालयबाट हुने अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । नगरपालिकाका कार्यवाहक प्रमुख छाया देवकोटाले सूचना जारी गर्दै स्वास्थ्य केन्द्रमा सेवारत अधिकांश स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हुँदा समुदायस्तरसम्म फैलिन नदिन नगरपालिका र नौ वटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताईन् ।  

उनले सरकारले जोखिम न्यूनीकरणका लागि जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना  गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न  नगरवासीमा अनुरोध गरिन् । भजनी प्राथमिक स्वास्थ्य केन्द्रले पनि सूचना जारी गर्दै प्रसूति बाहेकका अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

उता कैलालीको टीकापुर नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एक जना पुरुष कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गरिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए । उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिएको बताए । आइतबारसम्म सबै कर्मचारीको स्वाब संकलन गरि सकिएको रावलले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहहरुलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो । मेलौली नगरपालिकाका गाडीका चालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसंगै नगर क्षेत्र सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टले बताए ।

यस्तै पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र ८ जना नयाँ संक्रमित थपिएपछि नगर क्षेत्र सिल गर्ने निर्णय भएको  प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । सिल भएको अवधिमा स्वास्थ्य र आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेका दुुवैै स्थानीय तहहरुले जनाएका छन् ।