१२ बर्षपछि धनगढीबाट बझाङका लागि यात्रु भरिएर समिट एयरको जहाज उड्यो
2020/10/13, 1:57
 
airport

समिट एयरको जहाज धनगढीबाट बझाङका लागि उडेको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बझाङका लागि जहाज उडेको जानकारी दिए। उनका अनुसार बझाङका लागि जहाज सिट क्षमता अनुसार १६ जना यात्रु लिएर उडेको हो भने बझाङबाट समेत १६ जना यात्रु धनगढी आउनेछन्। यस्तै समिट एयरले बैतडी र डोटीका लागि पनि उडान भर्ने विमानस्थल कार्यालयका प्रमुख बुढथापाले बताए।

1

उनले समय तालिका अहिले नै निर्धारण नभएपनि उडान निश्चित भएको बताए। समिटले धनगढी–साफे नियमित उडानको तयारी समेत गरेको विमास्थल कार्यालयले जनाएको छ। १७ असोजमा परीक्षण उडानको उदघाटन गरिएका बझाङको चैनपुर विमानस्थल, बैतडीको पाटन र डोटीको दिपायल विमानस्थलमा धनगढीबाट नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी अन्तरगत समिटले यी उडान गर्न लागेको प्रमुख बुढथापाले बताए।

2

नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई वेस बनाएर यी विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाईसकेको छ। टर्मिनल भवन, टावर लगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भिएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको प्राधिकरणले जनाएको छ।