सुदूरपश्चिममा हालसम्म ९ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका आठ र कञ्चनपुरका एक सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीले जनाएको छ ।
महासङ्घका अनुसार तीमध्ये ६ जना पत्रकार र तीन जना प्राविधीकलाई कोरोना पुष्टि भएको हो । दुई हप्ताअघिसम्म सुदूरपश्चिमका कुनै पत्रकारलाई नदेखीएको कोरोना संक्रमण एकाएक बढ्दै गएको महासंघको ठहर छ ।
महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर काम गर्न सबैमा अनुरोध गरेको छ ।
महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहले पत्रकारहरुले समाचार संकलन गर्दा व्यक्तिगत सुरक्षामा ध्यान दिनु जरुरी रहेको बताए । उनले जोखीममा रहेका पत्रकारहरुको कोरोना परिक्षणकोलागी सम्बन्धीत निकायसंग समन्वय भईरहेको जनाए ।
यस्तै पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीले कैलालीका पाचँ जना पत्रकार र तीन जना प्राविधीकलाई कोरोना संक्रमण पुष्टि भएको बताए । संक्रमितमध्ये एक जना पत्रकार निको भइसकेका छन् भने बाकी आईसोलेसनमा रहेको उनको भनाइ छ । उनले पत्रकारहरुले व्यक्तिगत सुरक्षा सावधानी अपनाउनु बाहेक विकल्प नरहेको बताए । जोशीले भने–‘कन्ट्याक्ट ट्रेसीङमा परेका पत्रकारको निशुल्क कोरोना परिक्षणको लागी प्रदेश र स्थानिय सरकारसंग निरन्तर पहल भईरहेको छ, यद्यपी पत्रकारहरुले सुरक्षा सावधानी अपनाउनु जरुरी छ ।’
उनले संक्रमण पुष्टि भएका पत्रकारहरुको आईसोलेसनको लागी पत्रकार महासंघ कैलालीको भवन तयारी अवस्थामा रहेको र कसैलाई समस्या परेको खण्डमा बस्न र खानाको लागी समेत व्यवस्था भईरहेको जानकारी दिए ।