कञ्चनपुरमा युवती बेचबिखन मुद्दामा मदिरा व्यवसायी र ठेकेदार प्रहरीको फन्दामा
2020/10/15, 8:05
 
bech bikhan

कञ्चनपुरमा युवती बेचबिखन मुद्दामा मदिरा व्यवसायी र ठेकेदार प्रहरीको फन्दामा परेका छन्। गत असोज १२ गते दोधाराचाँदनीको चोरी बाटो हुँदै १५ वर्षीया किशोरीलाई बेचबिखन गर्न भारत लगिरहेको भन्ने सूचनाका आधारमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पक्राउ गरेको थियो।

सोही मुद्दाको अनुसन्धान गर्दै जादा महेन्द्रनगर बजारमा मदिरा व्यवसाय गर्दै आएका कञ्चनपुरकै राजेन्द्र प्रसाद भट्ट र ठेक्कापट्टा व्यवसाय गर्ने राजेन्द्र गिरीलाई १९ असोजमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए।

मानव बेचबिखन मुद्दामा पक्राउ परेका तीनै जनामाथिको अनुसन्धान सकेर मिसिल जिल्ला अदालतमा बुझाईसकेको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले आरोपी भने अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा रहेको बताए।

गिरीले ललाईफकाइ गरेर बेचबिखनका लागि भारत लैजादै गरेको भन्ने सूचनाका आधारमा माइती नेपाल कञ्चनपुर र प्रहरीको संयुक्त टोलीले किशोरीको उद्दार गर्दै उनलाई पक्राउ गरेको थियो।