६५ औँ प्रहरी दिवस सुदूरपश्चिममा पनि विशेष कार्यक्रम गरी मनाइएको छ। प्रदेश प्रहरी कार्यालय दीपायलले धनगढीमा प्रहरी दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेको हो।
प्रहरी दिवसका अवसरमा संघिय प्रहरी इकाइ कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल प्रहरीको कामको प्रशंसा गरे। उनले प्रहरी प्रशासनलाई थप सुदृढ र बलियो बनाउन प्रविधिमैत्री संरचनाकोे विकास गर्न आवश्यक रहेको बताए।
‘प्रहरीको हिजाको क्षमता र कार्यशैलीले अपराधलाई नियन्त्रण गर्न सकिदैन्। अपराधि भन्दा प्रहरी दुई कदम अगाडी हुनुपर्छ। सरकारले प्रहरीका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्नुपर्छ। हामी पनि प्रदेश प्रहरी गठन गछौँ।’
उनले भने। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले पनि प्रहरीलाई प्रविधी मैत्री बनाउनुपर्नेमा जोड दिए।
‘कानून कार्यान्वयन गराउने पहिलो जिम्मेवारी प्रहरीको हो। हिंसा मुक्त समाजका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ।’ उनले भने, ‘हामीले पनि प्रहरीलाई प्रविधि विकासमा सहयोग गर्दै आएका छौँ। प्रदेश प्रहरी गठनमा बिलम्ब भएको छ। प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश अनुसन्धान ब्युरो स्थापना गछौँ।’
छिट्टै प्रदेश प्रहरी ऐन बनाएर गठनको प्रक्रिया थालिने उनले बताए। कार्यक्रममा बोल्दै सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) उत्तमराज सुवेदीले पनि अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताए।
‘प्रविधिको तिव्र विकास भईरहेका बेला संसारभर अपराध अनुसन्धानमा पनि यसकसो प्रयोग बढेको छ। अपराधिक गतिविधी गर्ने व्यक्तिहरुले प्रविधिक प्रयोग गर्ने गरेका छन्।’ प्रहरी नायब महानिरिक्षक सुवेदीले भने, ‘टेक्नोलाजीेलाई समय सापेक्ष गराउन आवश्यक छ। प्रविधीको विकास र प्रयोगका दृष्टिकोणले हामी अलिकति कमजोर छौँ।’
प्रविधीको व्यापक रुपमा प्रयोग हुन नसकेपनि नेपाल प्रहरी भने अपराध अनुसन्धानमा सफल संगठन भएको प्रहरी नायब महानिरिक्षक सुवेदीले बताए। प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।
प्रहरी संगठनको औपचारिक स्थापना २०१२ सालको असोजमा भएपनि शान्ति सुरक्षाको कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो।