मझगाउँ विमानस्थल सञ्चालनका लागि १० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने
2020/10/17, 4:46
 
airport

सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँ स्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १० प्रतिशत रकम महाकाली नगरपालिकाले व्यहोर्ने भएको छ।

विमानस्थल सञ्चालन गर्न बसेको नगरपालिकाको बैठकले नेपाल नागरिक तथा हवाई उड्ययन प्राधिकरण र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि लाग्ने कूल रकममध्ये १० प्रतिशतले हुन आउने रकम लागत साझेदारी स्वरुप व्यहोर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको छ।

प्राधिकरणले आगामी फागुनदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि कार्य अगाडि बढाउने तयारी गरेको छ। प्राधिकरणले विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय तहको साझेदारी अपेक्षा गरेपछि महाकाली नगरपालिकाले खर्च व्यहोर्ने प्रतिबद्धता गरेको हो। 

महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन हुनुपर्ने बताए। गत आवमा समेत नगरपालिकाले विमानस्थल सञ्चालनका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो। केही दिनअघि प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनका लागि निरीक्षणको कार्य गरेको छ। बन्द विमानस्थल सञ्चालनका लागि गतवर्ष सम्भाव्यता अध्ययनको कार्यसमेत गरिएको थियो।

प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनललगायत भौतिक संरचना निर्माण गर्न रु ३७ करोड बजेट अनुमान गरिएको छ। गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि रु ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो।