कैलालीको कैलारी गाउँपालिका-५ स्थित छोटी पलियामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सीमा क्षेत्रमा सुरक्षा कायम र चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर अन्तर्गत स्थापना गरिएको बीओपीको आइतबार सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकी र कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले सयुक्त रुपमा उदघाटन गरे ।
यो सङगै कैलारी गाउँपालिकामा तीन वटा बीओपी पुगेको छ । यसअघि भुईयाफाटा र खोनपुरमा बीओपी स्थापना गरिएको थियो । सो गाउँपालिकामामात्रै पाँच वटा बीओपी स्थापना हुने जनाइएको छ । अब वडा नम्बर ३ को मोहनपुर घाट र वडा नम्बर ७ को लट्ठा (विपतपुर) घाटमा बीओपी स्थापना गर्न बाकी रहेको कैलारी गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
छोटी पलिया बीओपीमा तत्काललाई १५ जना सशस्त्र प्रहरी बस्ने जनाइएको छ । विगतमा सो क्षेत्रलाई भुईयाफाटा बीओपीले हेर्दै आएको थियो ।