भीम रावलले दशैँ पेश्की फिर्ता गर्ने
2020/10/18, 3:27
 
bhim

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् एवं स्थायी समिति सदस्य डा. भीम रावलले दशैँ पेश्की फिर्ता गर्ने भएका छन्। उनले संसद् सचिवालयलाई पत्र लेखेर आफ्नो खातामा जम्मा भएको दशैं भत्ता फिर्ता गर्न आग्रह गरेका हुन्। खातामा पठाइसकिएको रकम संसद् सचिवालय तान्न नमिल्ने भए सो बराबरको चेक आफूले संसद् सचिवालयमा बुझाउने वा आगामी महिनाको नियमित तलबबाट कट्टा गर्न उनले विकल्प सुझाएका छन्। रावलले आइतबार पत्र नै पठाएर दशैंको पेश्कीबापत्को ६४ हजार ७० रुपैयाँ फिर्ता गर्ने भएका हुन्। 

संसद् सचिवालयलाई पत्र पठाउनुअघि  उनले ट्वीटरमा दशैँ भत्ता नलिन कुनै नयाँ कानुन या कानुनमा संशोधन चाहिँदैन भन्दै उक्त रकम नलिन जनप्रतिनिधिलाई अपिल गरेका थिए । ट्वीटमा उनले भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैंभत्ता नलिने व्यवस्था गरियोस् । सांसद्हरुले उक्त भत्ता लिनहुन्न भन्‍नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

यसैबीच कोभिड-१९ को महामारीका कारण देश संकटमा परिरहेको र ठूलो संख्यामा नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थाबाट गुज्रिरहेका बेला जनप्रतिनिधिहरूले दशैँ भत्ता लिनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै साझा पार्टीकी बागमती प्रदेशसभा सदस्य शोभा शाक्यले पनि रकम फिर्ता गर्ने भएकी छन् ।