सुदूरपश्चिम क्षेत्रमा निजी कम्पनीको सबैभन्दा ठूलो जलविद्युत् आयोजना शिलान्यास
2020/10/19, 4:07
 
hydro

 निजी कम्पनीले सुदूरपश्चिममै हालसम्मकै सबैभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाको दार्चुलामा शिलान्यास गरेको छ। अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत्को मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीबाट शिलान्यास गरेको हो।

कार्तिक महिनाबाट काम सुरु गरिने यो आयोजना आगामी २० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखको कम्पनीले जानकारी दिएको छ। अपि हिमाल गाउँपालिकाको ओखल भन्ने थानमा बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्टक पाइपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाड क्षेत्रमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन थालिने छ। 

यसबाट उत्पादित विद्युत् १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइनमार्फत नेपाल विद्युत् प्राधिकरण बलाँचको सबस्टेसनमा ल्याई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। आयोजना निर्माणका लागि ७ सय ४० करोड खर्च हुने अनुमान गरिएको छ। 

कुल लागतमध्ये ३० प्रतिशतले हुने २ सय २२ कराड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी रकम संकलन गर्ने जनाएको छ भने बाँकीको ७० प्रतिशत रकम ५ सय १८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक र वित्तीय संस्थाबाट ऋण लिइने छ।

दार्चुलाको अति दुर्गम क्षेत्र मानिने अपि हिमाल र मार्मा गाउँपालिकाको विद्युतीकरण र सो क्षेत्रका नागरिकको जीविकोपार्जनमा सुधार ल्याउन आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले बताएका छन्।