शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल सफारी र जङ्गल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ ।
निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जङ्गल ड्राइभ र जङ्गल वाक गर्न पाइने बताइएको छ ।
निकुञ्जभित्र हुने ¥याफटिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ । निकुञ्जमा जङ्गल सफारी र जङ्गल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ । निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइने छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हँुदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६÷७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ ले कमी हो । आव २०७५÷७६ मा छ हजार ६९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारण पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका कर्मचारीको भनाइ छ ।
निकुञ्जमा संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान, बाह्रसिङ्गाको ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ रहेका छन् । निकुञ्जका यिनै जनावार र प्राकृतिक सौन्दर्यता हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् । रासस