कोरोनाका कारण दार्चुलामा पहिलो पटक पुरुषको मृत्यु 
2020/10/20, 1:22
 
death

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।  चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धनगढी गएका उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

उनको मृत्यु भएपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको भट्टले बताए । मृतकको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । कोरोनाका कारण मृत्यु भएपछि उनको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य गर्ने तयारी भइरहेको दुहुँ गाउँपालिकाले जनाएको छ । 

कोरोनाका कारण मृत्यु भएका ती पुरुष नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक रहेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । दार्चुलामा हालसम्म अपि हिमाल गाउँपालिका बाहेक आठ वटा स्थानीय तहका १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या यसमा नजोडिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुला सदरमुकाम खलंगामा संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप फैलिन नदिन भन्दै अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।