सुदूरपश्चिममा दुई दिनमा चार जना कोरोना संक्रमितको मृत्यु 
2020/10/21, 11:34
 
corona

सुदूरपश्चिममा दुई दिनमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मंगलबार र सोमबार गरी दुई दिनमा चार जनाको कोरोना संक्रमितको मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मंगलबार धनगढीका व्यापारी सहित कोरोनाबाट २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो । सेती अस्पतालका अनुसार असोज २८ गते संक्रमण पुष्टि भएका धनगढी २ का ६८ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्को ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । 

१५ दिन अगाडी सेती अस्पतालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको उपचारका क्रम मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुई जना धनगढी निवासीको मृत्यु हुँदा दुई जना थप संक्रमितको पनि धनगढीमै मृत्यु भएको छ । उनीहरुमध्ये एक जना कञ्चनपुर र अर्का दार्चुलाका हुन् । धनगढीमा रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कोरोना संक्रमितको सोमबार मृत्यु भयो ।

रिर्पोट नेगेटिभ आएपछि भेन्टिलेटरबाट निकालिएका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का ३८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनमा असोज २४ गते संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि अस्पताल भर्ना भएका उनको रिर्पोट नेगेटिभ आएपछि सोमबार जनरल आइसियुमा सारिएको थियो । आइसियुमा सारेपछि ती पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनको रिर्पोट नेगेटिभ भएकाले सोमबार नै शव आफन्तले बुझेर अीनतम संस्कार गरिसकेका छन् । 

यस्तै धनगढीमा उपचाररत दार्चुलाका कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । धनगढीमा उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । चार दिन पहिले ज्वरो संगै श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा धनगढीमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

उनको मृत्यु भएपछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको शव नेपाली सेनाले कैलालीको तेघरीमा मंगलबार व्यवस्थापन गरेको छ । योसँगै सुदुरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।