तीन वर्षको अन्तरालमा कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित दोदा नदीको किनारमा उच्च सम्मानका साथ दुई जनाको अन्त्येष्टि गरिएको छ । दुवैको पृष्ठभूमि फरक भए पनि समानताका विषयहरु पनि प्रशस्त छन् । जिल्ला र पालिका मात्रै होइन संयोगले उनीहरुको नाम पनि एउटै परेको छ । शहीद गोविन्द गौतम र असइ गोविन्द बिक । फरक यति मात्रै हो, गोविन्द गौतम सीमा रक्षाका लागि सहिद भए । गोविन्द बिकले कर्तव्य पालना गर्दागर्दै ज्यान गुमाउनुपर्यो ।
फरक पृष्ठभूमिका समानताहरु
सोमबार दिउँसो कञ्चनपुरको पुनर्वास नगरपालिका ९ दोदा नदीको किनारमा उच्च सम्मान सहित गोविन्द बिकको अन्त्येष्टि गरिंदै थियो । कोरोना कहरका बीच पनि बिकको अत्येष्टिमा सहभागी हुनेहरुको संख्यामा कमी थिएन । उनको अन्त्येष्टिमा प्रदेश प्रमुख सहित प्रदेश सभाका सदस्य, मेयर तथा सयौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए । उनलाई पुनर्वास ९ दोदा नदीको किर्तिपुर घाटमा प्रहरीको सम्मानका साथ शोक सलामी सहित अन्त्येष्टि गरिएको हो ।
त्यही दोदा नदीमा तीन वर्ष अघि अर्का गोविन्दको त्यसैगरी अन्त्येष्टि गरिएको थियो । कीर्तिपुर घाटबाट झण्डै चार पाँच किलोमिटर वर (धनगढीतर्फ) पचकडिया घाट पर्छ । त्यही घाटमा राष्ट्रिय सम्मानका साथ शोक सलामी सहित गौतमको अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा पनि हजारौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए । गौतमलाई सरकारले शहीद घोषणा गरेपछि राष्ट्रिय सम्मानका साथ शहिदको सलामी दिइएको थियो भने बिक बहालवालामा रहेकाले प्रहरीको सलामी सहित अन्त्येष्टि गरिएको हो ।
यसरी ढले गोविन्द
सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न राज्यले सुम्पिएको दायित्व निर्वाह गर्दागर्दै पुनर्वास नगरपालिका ९ ‘ख’ गाउँ सीमाबस्तीका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिकको हत्या भयो । कैलालीको धनगढी उपमहानगरपालिका– १२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज बिकको शनिबार राति गस्तीमा गएका बेला तस्करको समूहले हत्या गरी मोहना नदीमा फालिएको अवस्थामा शव फेला परेको हो । अर्का गोविन्द गौतमको भने २०७३ साल फागुन २६ गते नेपाल भारत सीमा विवादका क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गएको थियो ।
गौतमको हत्यामा संलग्नको हालसम्म पहिचान हुन सकेको छैन । दुवै देशका सरकारले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्ने प्रतिवद्धता जनाएको वर्षाैं बितिसकेको छ । तर अहिलेसम्म दोषीमाथि कारबाही भएको छैन । यता आइतबार बिहान मोहना नदीमा शव भेटिएका असइ गोविन्द बिकको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको मंगलबार शव भेटिएको छ । साउँदलाई पनि तस्करहरुको समूहले हत्या गरी नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो खवर उज्यालो अनलाईनमा दुर्गा उपाध्यायले लेखेकी छिन् ।