धनगढीमा दुई प्रहरीको हत्याले उब्जाएका केही अनुत्तरित प्रश्नहरु
2020/10/22, 11:46
 
death

कैलालीमा तस्करी रोक्न खोज्दा प्रहरीका असइ गोविन्द विक र जवान रामबहादुर साउद मारिएको घटनाले केही आशंका उब्जाएको छ । प्रहरीले केराउ (मटर)का मुख्य तस्करलाई पक्राउ गरेको छैन । पक्राउपछि सार्वजनिक गरिएका सात जना अधिकांश भरिया मात्रै पाइएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्ट शनिबार राति १० देखि ११ बजेको बीचमा असइ विक र जवान साउदको हत्या भएको अनुमान गर्छन् ।

दुवै जना राति १० बजेदेखि नै सम्पर्क विहीन भएका थिए । तर, त्यसबारे जिल्ला प्रहरी कार्यालयमा आइतबार बिहान १० बजे मात्रै खबर गरिएको थियो । माथिल्लो निकायमा समयमै किन खबर गरिएन ? यसबारे जिल्ला प्रहरी प्रवक्ता विष्ट भन्छन्, ‘पालैपालो गस्ती जाने गरिन्छ । गस्तीमा फर्किने समयको ठेगान हुँदैन । त्यसैले ढिलो गरी खबर गरिएको हुन सक्छ ।’

सामान्यतः गस्तीमा रहेका हवल्दारसँग वाकेटोकी हुन्छ । असइको टोलीसँग नहुने कुरै भएन । संवेदनशील क्षेत्रमा दुई जना मात्रै गस्ती गएका बेला असइ विकले माथिल्लो निकायमा जाहेर गरेका होलान । केही परिहाले आकस्मिक टोलीका लागि कुरा गरे होलान् । तर, प्रहरी यसबारे अनुसन्धान भइरहेको छ भनेर पन्छिन्छ । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी यसबारे बोलेका छैनन् ।

सीमा नाकामा हुने चोरी तस्करी र आपराधिक गिरोह समात्न जाने क्रममा स्थानीय कमान्डरले माथिको कमान्डरलाई जानकारी वा सूचना दिने फोर्सको ‘चेन अफ कमान्ड’भित्रै पर्छ ।  त्यसो हो भने ब्याक फोर्स किन गएन ? एक प्रहरी अधिकृत भन्छन्, ‘असइ विक दुस्साहसी र निडर थिए । चौकीमा थोरै जनशक्ति भएकाले पनि उनीहरू दुई जना मात्र गस्तीमा निस्किए । तस्करसँग सेटिङ गरेको भए उनीहरू बाँच्थे होलान् तर इमानदार भएकाले मारिए ।’

असइ विक र जवान साउद तस्करी भइरहेको सूचनाका आधारमा बेलुकीको खाना खाएर मोटरसाइकल चढी सीमातिर गस्तीमा गएका थिए । उनीहरूले आफू चढेको मोटरसाइकल नजिकैको बस्तीमा एक घरमा राखे । आआफ्नो स्लिपिङ ब्याग समातेर उनीहरू तस्कर ढुक्न बसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनीहरूले मोटरसाइकल छाडेको स्थानभन्दा घटनास्थल झन्डै २ किमि दूरीमा छ ।

जुगेडा गाउँ धनगढी उपमहानगरपालिका–९, १० र १२ को तल्लो भाग (सीमा तर्फको भाग) हो । त्यहाँबाट तस्करी हुने गरेको सबैलाई थाहा छ । प्रहरी त्यसबारे अनभिज्ञ रहने कुरै भएन । अझ त्यो क्षेत्रमा भारत र नेपालका तस्कर हतियार सहित फेला परेका, गोली हानेर भागेका घटना भएकै थिए । त्यसैले प्रहरीले त्यस क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रूपमा राखेको छ ।

त्यही दिन किन गएन सशस्त्रको गस्ती ?
दुई प्रहरी मारिएको घटनास्थलको पूर्व र पश्चिम सशस्त्र प्रहरीका दुईवटा बीओपी छन् । पूर्वतर्फको बीओपीको दूरी झन्डै एक किमि मात्रै छ । तर, त्यस रात सशस्त्र प्रहरी गस्तीमा गएको देखिँदैन । ‘संयोग हो वा जानी–जानी हो थाहा भएन । सधैं राति गस्तीमा भेट हुने सशस्त्र प्रहरी त्यो दिन भेटिएन’, जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत एक सुरक्षाकर्मीले भने । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बेला–बेला विवाद हुने गरेको छ ।

एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी मारिएको टीकापुर घटनामा पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको विवाद सतहमै आएको थियो । ‘केराउ (मटर) तस्करले माल पास गराइरहेको सूचना सशस्त्र प्रहरीलाई थियो कि ?’, एक स्थानीयले आशंका गरे, ‘सेटिङ भएका स्थानमा आँखा चिम्लिने परिपाटीले घटना भयो कि वा त्यो संयोग थियो ?’

लकडाउनपछि त नेपाल–भारत सिमानामा सशस्त्र प्रहरीको कडा पहरा छ । सीमा क्षेत्रमा एकबाट अर्को ठाउँको पोस्ट देखिने गरी सशस्त्र प्रहरी तैनाथ छन् । प्रश्न उठ्छ, सशस्त्र प्रहरीले यति ठूलो तस्करी भइरहेको किन थाहा पाएन ?

जुगेडामा थोरै जनशक्ति किन ?
सुदूरपश्चिम प्रदेश प्रहरीको कमान्ड डीआईजी सुवेदीले गरिरहेका छन । कैलालीको कमान्डमा अनुप शमशेर जबरा छन् । जबरा कोरोना संक्रमित भएका कारण बिदामा छन । हत्याकाण्डपछि कञ्चनुरको दंगा प्रहरी गणबाट एसपी दिलीपसिंह देउवालाई कैलालीको कमान्ड सम्हाल्न खटाइएको छ । डीआईजी सुवेदी र एसपी जबरालाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी चौकीको वर्गीकरणबारे जानकारी नहुने कुरै रहेन ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुगेडा आसपास क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रूपमा राखेका छन् । तर, त्यहाँ असइको कमान्डमा ७ जन मात्रै प्रहरी जनशक्ति खटाइएको थियो । हत्याकाण्डपछि त्यस क्षेत्रमा सइको कमान्डमा १५ जनाको जनशक्ति पठाइएको छ । तस्करीको अखडामा प्रहरीको न्यून जनशक्तिका कारण पनि तस्करलाई मौका मिलेको देखिन्छ ।

अस्थायी प्रहरी चौकी रहेको धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेश जोशी भन्छन्, ‘जुगेडामा प्रहरी जनशक्ति थप्न एसपी, सीडीओलाई पटक–पटक गुहार ग¥यौं । तर, केही सीप चलेन । अहिले यति ठूलो घटना भयो ।’ यो खबरलाई शिवराज भट्टले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।