कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई देउवाको आग्रह
2020/10/22, 4:10
 
deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने भनि सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको बताएका छन् ।

सभापति देउवाले विहीबार प्रेस विज्ञप्ती जारी गर्दै जनताप्रति सरकार सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख रहेको बताएका हुन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेका छन् । देशमा सर्वत्र त्रास छ । यस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनु पर्ने सरकारले झन् पीडा थप्ने काम गरेको छ ।’

 ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ सेवाबाट बन्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानूनको दृष्टिमा समान हुने, सामान्य कानूनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’ जारी विज्ञप्तीमा अगाडि भनिएको छ ।