पर्यटकको आकर्षणमा पर्यटकीय स्थल खप्तड प्रवेशद्वारको झिग्राना होमस्टे
2020/10/23, 6:57
 
home stay

सुदूरपश्चिम प्रदेशको एक मात्र प्रमुख पर्यटकीय स्थल खप्तड प्रवेशद्वारमा निर्माण गरिएको झिग्राना होमस्टेमा पछिल्लो समय स्वदेशी पर्यटकको आकर्षण बढेको छ । कोरोना महामारीको जोखिम भएपनि होमस्टेमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम जारी छ । अहिले मौसम उपयुक्त भएकाले खप्तड घुम्न सहज हुने ठानेर पर्यटक बढेका हुन् ।

शान्त तथा सुन्दर हरियाली ठाउँमा निर्माण गरिएको सो होमस्टेले पर्यटकलाई आकर्षित गराउन थालेको स्थानीयवासी बताउँछन् । डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले ५० लाखको लगानीमा जिल्लाको पूर्वीचौकी गाउँपालिकास्थित झिग्रनामा होमस्टे सञ्चालन गरेका हुन् । 

होमस्टे सञ्चालनपछि दैनिक १५ देखि २० जनासम्म खप्तड घुम्न आउने पर्यटकहरु तीन÷चार दिन बास बसेर जाने गरेको होमस्टे सञ्चालक खड्काले बताए । दशैँ र तिहारको समयमा एक हप्ताका लागि आन्तरिक पर्यटकले हामेस्टे बुकिङ गरेको सञ्चालक खड्काले जानकारी दिए । 

होमस्टेमा आउने तथा खप्तड घुम्न जाने पर्यटकले एक रातमा कम्तिमा पनि एकजनाले रु पाँच हजारसम्म खर्च गर्ने भएकाले अहिले व्यापार राम्रै चल्न थालेको छ । झिग्रानाबाट बझाङको शैपाल हिमालको पनि दृष्यावलोकन गर्न सकिने भएकाले उक्त होमस्टेमा अहिले आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक बढ्दै गएका पूर्वीचौकी गाउँपालिकास्थित कुडासैनका स्थानीयवासी भीमबहादुर विष्टले बताए । 

उनले भने, “अग्लो ठाउँमा होमस्टे निर्माण गरिएको छ, त्यहाँबाट तराइका केही फाँट र छिमेकी जिल्ला बझाङको शैपाल हिमाल आखै अगाडी देखिने भएकाले पनि पर्यटकहरु घुम्न आउने गरेका छन् ।” उक्त होमस्टेलाई स्वच्छ वातावरण, खानेपानी, शौचालय, सौर्य बिजुलीबत्ती लगायतका सुविधाले व्यवस्थित गरिएकाले पनि पर्यटकको आर्कषण बढेको पाइएको छ । 

होमस्टेमा गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरिने र मनोरञ्जनात्मकदेखि सांस्कृतिक कार्यक्रम पनि गरिने भएकाले होमस्टेमा पर्यटकको आर्कषण बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । खप्तड राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत राजु घिमिरेका अनुसार कोरोना भाइरसका कारण बन्दाबन्दीको अवधि खुलेपछि खप्तड क्षेत्रमा मात्रै कम्तीमा पनि दुई हजार जना जति स्वदेशी पर्यटक भित्रिएका छन् ।

अहिले खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज क्षेत्र खुला गरिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा विषेश गरी हिँउदको समयमा बढी पर्यटकहरु भित्रिने गरेका छन् । विगतका वर्षमा विदेशी नागरिक पनि खप्तड क्षेत्रमा आउने गरेको भएपनि अहिलेको कोरोनाका कारण विदेशी पर्यटक भने एकजना पनि नआएको कार्यालयले जनाएको छ । 

होमस्टे सञ्चालन गरेका घरमा २० देखि ३० जनासम्म बास बस्न सक्ने क्षमताका रहेका छन् भने ५० जना भन्दा बढी अट्न सक्ने तालिम, सेमिनार गोष्ठी गर्न सकिने हल समेत निर्माण गरिएको छ । होमस्टेलाई आउँदा दिनमा अझै सुविधासम्पन्न बनाउने प्रयत्नमा लागि परेको सञ्चालक खड्काले जानकारी दिए । 

उनका अनुसार होमस्टेमा अग्र्यानिक खानाहरू आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा स्थानीय परिकारमा पर्यटक रमाउने गरेका छन् । पर्यटकीय क्षेत्रको अवलोकनसँगै रातको समयमा क्याम्पफायर गर्ने सुविधा समेत व्यवस्था गरिएको छ ।