बुढ्यौलीमा कोरोना जित्नेहरू
2020/10/23, 12:43
 
corona

कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरकी ७० वर्षीया नारुदेवी दमाईं जेठ दोस्रो साता भारतको मुम्बईबाट घर फर्किइन् । १४ दिन क्वारेन्टाइनमा बसेपछि जेठ २८ गते उनमा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टिपछि उनलाई महाकाली अस्पतालको आइसोलेसनमा राखियो । १४ दिनसम्म कुनै लक्षण र स्वास्थ्यमा समस्या नदेखिएपछि उनलाई डिस्चार्ज गरियो ।

संक्रमणमुक्त भएपछि उनी नियमित काममा फर्केकी छन् । सुरुमा दूरदूर गर्ने उनका छिमेकी अहिले भने कुनै हिच्किचाहट नमानी सँगै बस्छन् । ‘साँच्ची भन्ने हो भने कोरोना संक्रमण भएर नभएको पत्तै नचलेर म ठीक भएँ,’ उनले भनिन्, ‘कोरोनाबाट अरूले पनि आत्तिनु पर्दैन ।’

उनी मात्रै होईन सुदूरपश्चिम प्रदेशमा ढाई सय जेष्ठ नागरिकहरुलाई कोरोना लागेको छ । अधिकांशले कोरोना जितेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनलायका अनुसार ६० बर्षभन्दा वढी उमेर समुहका दुई सय ३३ जना कोरोना संक्रमित भएका छन् । त्यसमा एक सय ६४ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

उमेरले बुढ्यौली भएपनि उनीहरुमध्ये अधिकांशले कोरोना जितेको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले बताए । बुढ्यौलीमा विभिन्न किसिमका रोगहरु देखिए पनि धेरै जेष्ठ नागरिकहरुले कोरोना जित्न सफल भएको उनको भनाई छ । 

विज्ञहरु भन्छन्– बालबच्चा र वृद्धवृद्धा कोरोना संक्रमणको उच्च जोखिममा छन् तर मुलुकका थुप्रै ज्येष्ठ नागरिकले संक्रमणलाई परास्त गरेका छन् । समस्यालाई सामान्य रूपमा लिए मुक्ति पाउन सकिने भए पनि सावधानी अपनाउन भने जरुरी रहेको उनीहरुको भनाइ छ ।