कञ्चनपुरको विष्णुधाममा योग तथा ध्यान केन्द्र बन्ने
2020/10/23, 5:17
 
yoga

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरस्थित विष्णु मन्दिर साकेतधाम क्षेत्रमा योग तथा ध्यान केन्द्र निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा केन्द्र बनाउन लागेको हो । केन्द्र निर्माणका लागि यस वर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ । विष्णु मन्दिर आउने दर्शनार्थी, भक्तजन र स्थानीयवासीका लागि केन्द्र बनाउन लागिएको हो । नगर प्रमुख सुरेन्द्र विष्टले बहूपयोग हुने गरी केन्द्र बनाउन लागिएको जानकारी दिए ।

विष्णु मन्दिर साकेत धाम धार्मिक पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । यहाँ आउने भक्तजन र स्थानीयवासीलाई ध्यान र  योग गर्न सहयोग पुगोस् भनेर बनाउन लागिएको केन्द्रको काम अब केही दिनमा सुरु गरिने छ । नगरपालिकाले विष्णु मन्दिर साकेतधाम क्षेत्रको गुरुयोजना बनाएर धार्मिक पर्यटकीयस्थलका रुपमा  विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख विष्टले बताए । 

रौटेलादेखि ब्रह्मदेवसम्म जैविक– धार्मिक –पर्यटकीय मार्ग निर्माण गरी सबै धार्मिक पर्यटकीयस्थललाई जोडिएको र  पूर्णागिरि माताका दर्शनार्थीलाई पनि विष्णु मन्दिरधाम पु¥याइने उनको भनाइ छ । विष्णु मन्दिर धाम क्षेत्रमा धर्मशाला निर्माण, पोखरी मर्मतसम्भार, परिक्रमा पथ सुधार लगायतलाई प्राथमिकता दिइएको जनाइएको छ ।  विष्णु मन्दिर धाम क्षेत्रमा दृश्यावलोकन स्तभ्म बनाउन सम्भाव्यता अध्ययन समेत गरिएको थाहा भएको छ ।