यात्रु नपाउँदा सवारी साधन बसपार्कमै थन्किए, चलेका पनि रित्तै  
2020/10/23, 6:42
 
buspark

विगत वर्षमा चाडवाड मनाउन घर जानेको भीडले भरिभराउ हुने बसपार्कहरु यतिबेला सवारी साधानहरूले भरिएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनासरम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्कहरु सवारी साधनहरु भरिभराउ भएका हुन् ।

विगत वर्षमा दशैँको समयमा बसपार्कहरुका साथै बाटो बाटोमा पनि टिकट नपाएर यात्रु घण्टौँसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरे पनि यस पटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भीडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताए ।

विगत वर्षमा  जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस वर्ष दैनिक ५० देखि ६० सवारी साधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो । कैलाली र कञ्चनपुरका वस व्यवसायी समितिहरुले दशैंलाई लक्षित गर्दै थप गाडीहरु सञ्चालन गर्ने गरेका थिए । यसपाली भने भएकै गाडीहरु पनि यात्रु नपाएर रोकिएका छन् । काठमाण्डौंबाट यात्रुहरु ल्याउनका लागि मात्रै पनि दिनमा पाँच छ वटा वस जाने आउने गरेकोमा अचेल चलेका वसहरु पनि यात्रु विहीन भएर आउनु परेको सुन्दर सुदुरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले बताए । 

सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढीको बसपार्कमा यात्रुहरुको भिडले खुट्टा राख्ने ठाउँ समेत हुने अवस्था सिर्जना हुदैं आएको यसपाली सवारी चालक तथा कर्मचारी र बस व्यवसायी समितिका कर्मचारी यात्रुको प्रतिक्षामा बसिरहेका छन् । बडादशैँको सप्तमी हुँदा समेत गन्तव्य जान आउने यात्रु तथा टिकट काट्न पुग्नेहरुको संख्या औलामा गन्न सकिने अवस्थामा छ । विगतका वर्षमा भीडभाड र गन्तव्य जानेहरुको चहलपहलले दशैँका बेला भरिभराउ बसपार्क सुनसान हुँदा लाग्छ की यसवर्ष दशैँ नै आएको छैन ।

यस वर्ष भने बसपार्कमा यात्रुको चाप नै नभएपछि व्यवसायी चिन्तित बनेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको त्रासले यात्रुहरु नपाउँदा समस्या भएको बस चालक लोकेन्द्र विश्वकर्माले बताए । ‘यात्रु पाउनै मुस्किल भइरहेको छ’, उनले भने, ‘खाली गाडी ओहरदोहर गर्नुपर्ने बाध्यता छ ।’

झण्डै ६ महिनादेखि जारी लकडाउन र निषेधाज्ञा खुलेपछि लयमा फर्किने आशामा रहेका व्ययवसायीहरुले दशैँका बेला घाटालाई सन्तुलन गर्नेे विश्वास गरेका थिए । तर संक्रमणको जोखिमले मानिसहरुको आवतजावत नभएपछि उनीहरु निराश बनेका छन् । दर्शैँमा यात्रु नपाउँदा पेट्रोल खर्च समेत नउठ्दा समस्या भएको धनगढीका बस व्यवसायी जित बिसीले बताए । ‘विगतका वर्षहरुमा यात्रु बढी भएर गाडी नै पुग्दैन थियो,’ उनले भने, ‘यस वर्ष भने कोरोनाको प्रभावका कारण आम नागरिकले सार्वजनिक सवारी चढ्न नै छोडिदिए ।’

विगतमा काम विशेषले घर बाहिर रहेकाहरु, विद्यालय, कलेज अध्ययन गर्ने विद्यार्थीहरु दशैंको समयमा विभिन्न शहरबाट जन्मथलो फर्किने गर्दथे । तर यस वर्ष भने कोरोना प्रभाव पछि जारी लडाउनकै अवधिमा अधिकांश घर बाहिर बस्नेहरु फर्किसकेका कारण पनि सवारी साधनले यात्रु नपाएको आकलन गरिएको छ । भारतबाट फर्किनेहरु पनि लडाउनकै अवधिमा आइसकेका कारण दशैंमा पनि सुदूरपश्चिमको यातायात क्षेत्र सुनसान भएको हो । 

1

ट्राफिक प्रहरीले भने सञ्चालनमा आएका सवारी साधनलाई चेकजाँच गर्नका लागि काम गरिरहेको जनाएको छ । चाडबाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यक रूपमा दुःखदिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए । उनले भने्, “यात्रुहरूको सहजताका लागि जिल्लाका तीन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।”