सुदूरपश्चिममा दशैँमा दुई दिन रोकिएको कोरोना परीक्षण फेरि सुचारु, थप ८ जनामा कोरोना पुष्टि 
2020/10/28, 7:21
 
corona

दशैँमा दुई दिन रोकिएको कोरोना परीक्षण बुधबारदेखि फेरि सुरु भएको छ  । स्वाब संकलन कम भएको भन्दै नमुना अभावमा दशैँका दुई दिन प्रयोगशाला नै बन्द गरेका सुदूरपश्चिमका अस्पतालहरुले बुधबारदेखि परीक्षण थालेका हुन् । दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने व्यवस्था मिलाएको सेती प्रादेशिक अस्पतालमा पनि नमूना संकलन नहुँदा सोमबार र मंगलबार परीक्षण हुन नसकेको बुधबारदेखि सुरु भएको अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

आशिंक रुपमा परीक्षण बन्द गरेका पहाडी जिल्लाका अस्पतालले समेत बुधबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याएका छन् । बैतडीको कोभिड–१९ सम्पर्क व्यक्ती भुवन प्रसाद जोशीले बुधबारदेखि पुनः परीक्षण र नमूना संकलनको काम थालिएको बताए । सेती प्रादेशिक अस्पतालसंगै डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्दै परीक्षण गरिरहेका छन् ।

एउटा प्रयोगशालामा दैनिक १ हजार २ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ । दशैँमा भने एक  जनाको पनि सुदूरपश्चिममा परिक्षण हुन सकेको थिएन् । स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले दशैँका समयमा आकस्मिक नमूना परीक्षण गर्ने भनिए पनि स्वाब संकलन नभएका कारण रोकिएको बताउँदै फेरि सुरु गरिएको जानकारी दिए । 

सुदुरपश्चिममा वुधवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा ६ जना र अछामको कमलबजार प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।  अछाममा गरिएको परीक्षणमा अछामकै दुई जनामा पुष्टि भएको हो भने धनगढीमा गरिएको परिक्षणमा चार जना कैलालीका र दुई जना कञ्चनपुरका रहेको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका ४ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका र दशरथचन्द नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २, ३ र ५ का १/१ जना र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ६ सय २०  पुगेको छ।  संक्रमित मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।