देहरादुनमा निर्घात पिटिएका नेपाली विद्यार्थी भन्छन्– ‘दशैँमा घर जान विदा माग्दा कुटाई खानुपर्यो’
2020/10/29, 7:23
 
student

दशैँले गर्दा दुईचार दिन सुनसान रहेको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा आज दिउँसो दुई जना युवा भेटिए । अनुहारमा पसिना, पिठ्यूमा झोला भिरेका ती युवा भारतको देहरादुनबाट भागेर नाकासम्म आएका हुन् । ती युवा मकवानपुरको मोरङगेका १७ वर्षिया नविन तामाङ र निसुखोला गाउँपालिका–५ बाग्लुङका भूमीराज घर्तिमगर  हुन् ।

नविन ६ वर्ष पहिले नेपालबाट भारतको देहरादुन स्थित शाक्य एकेडेमीमा बौद्ध लामा पढ्न गएका थिए । तर अहिले उनी सो विद्यालयबाट भागेर नेपाल पुगेका छन् । ‘लामा बस्न आफ्नो इच्छाले ६ वर्ष पहिले म शाक्य एकेडेमीमा बौद्ध लामा पढ्न गएको थिएँ  ।’ नविनले भने ‘तर अहिले त्यहाँबाट भागेर आएको छु ।’ पढाई राम्रै चलिरहेको थियो । तर दशैँमा घर आउँनलाई विदा माग्दा विदा नदिएर झन उल्टै आफुहरुलाई कुटेपछि त्यहाँ बाट भागेर आएको नविनले बताए । 

विदाको माग गर्दा नविन सहित ४७ जना विद्यार्थी सोमबार पिटिएका थिए । ‘हामीहरुले विदा माग्नु भन्दा केही दिन अगाडी १८ जना नेपाली विद्यार्थीहरुलाई एकेडेमीले विदा दिएको थियो । त्यही आशमा दशैँमा घर आउँने भनेर हामी ४७ जना साथीहरुले पनि विदा पाउँ भनेर गुरु ज्ञान बज्र रिम्पोचेलाई निवेदन दियौं ।’ नविनले भने ‘तर गुरुले विदा नदिएपछि हामी प्रिन्सिपल थेरिङ चोइडेनसंग कुरा गर्न गएका थियौँ, त्यहि बेला गुरु ज्ञाना ब्रजा आएर विदा माग्छौ भनेर हामीमाथि काठको लठ्ठीले आक्रमण गर्न थाल्नुभयो, त्यसपछि हामी भागेऊ ।’

उनले अगाडी थपे ‘गुरुको कुटाईबाट केही साथीहरुलाई चोट लागेको छ ।’ दशैँ–तिहारमा घर जान विदा नदिएर उल्टै कुटपिट भएपछि हामी १० हजार भारु पैसामा एउटा गाडी रिर्जव गरेर त्यहा बाट गएराति ९ बजे भागेर गड्डाचौकी नाकासम्म आइपुगेको अर्का विद्यार्थी भूमीराजले बताए । ‘यती ठूलो पर्वमा घर जान विदा माग्दा विदा नदिएर उल्टै कुटेपछि हामी भागेर आएका हौं ।’ भुमिराजले भने ‘अब त त्यहा जादैन, बरु यतै नेपालमा पढ्छु ।’ उनका अनुसार सो एकेडेमीमा झन्डै १ सय ८० जना नेपाली विद्यार्थी पढ्छन् ।