सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, बझाङ जिल्ला अस्पताल प्रयोगशाला र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
उनका अनुसार ४ वटै प्रयोगशालामा ३ सय ८७ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो । कार्कीले सेती अस्पताल प्रयोगशालामा १२ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ४, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमलबजार नगरपालिकाको प्रयोगशालामा १र१ जनामा संक्रमण पुष्टि भएको बताए ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ८ सहित थप १२ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का एकरएक जना, ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना र ठेगाना नखुलेका ३ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३८ पुगेको छ । संक्रमितमध्ये ७ हजार ५ सय ९५ जनाले कोरोना जितेका छन् भने ३३ जनाको मृत्यु भएको छ ।