सुदूपश्चिम प्रदेशमा १ लाख ५ हजार बढीको कोरोना परीक्षण गरिएको छ । गत चैतदेखि हालसम्म १ लाख ५ हजार ६५ जनाको कोरोना परीक्षण गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट सबैभन्दा धेरै ५६ हजार ९ सय १६ जनाको परीक्षण गरिएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशालाबाट १९ हजार ८ सय २३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १६ हजार ३ सय १८, डोटी जिल्ला अस्पताल प्रयोगशालाबाट ६ हजार ३८ जनाको परीक्षण भएको छ । जिल्ला अस्पताल बझाङ प्रयोगशालाबाट २ हजार ९ सय २३, जिल्ला अस्पताल बैतडीको प्रयोगशालाबाट १ हजार ४ सय ७७ र अछामको कमलबजार नगरपालिकाबाट १ हजार ४ सय ५४ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
परीक्षण गरिएका मध्ये हालसम्म ९ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन कुल परीक्षणको ९ दशमलव १७ प्रतिशत हुन्छ । तर स्वास्थ्य निर्देशनालयले भने ९ हजार ३ सय १२ जनामा संक्रमण पुष्टि भएको सार्वजनिक विवरणमा उल्लेख गरेको छ । सो विवरणमा प्रदेश बाहिरका प्रयोगशालामा गरिएको परीक्षणको तथ्यांक अद्यावधिक नगरिएको संख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।
सबैभन्दा धेरै कैलालीमा ३ हजार ६ सय १२ जना संक्रमित छन् भने डोटीमा १ हजार २ सय ५२ जना संक्रमित रहेका छन् । यस्तै अछाममा १ हजार १ सय ६४, कञ्चनपुरमा १ हजार २३, बझाङमा ६ सय ३०, बाजुरामा ४ सय ५९, बैतडीमा ४ सय ८०, डडेल्धुरामा ४ सय १२ र दार्चुलामा २ सय ६१ जना संक्रमित छन् । संक्रमण पुष्टि भएका मध्ये ७ हजार ६ सय ८ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको छ ।