दसैंको टीका नसकिँदै भारत जानेको लर्को
2020/10/30, 11:18
 
idia jane

दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए । कोरोना महामारीको डरले जन्मथलो फर्केका किसन फेरि कर्मथलोमा फर्कनु बाध्यता भएको बताउँछन् । ‘आफ्नो बारीको उत्पादनले खान पुग्दैन, नेपालमा रोजगारी छैन,’ उनले भने, ‘कामका लागि भारत पस्नु बाध्यता हो ।’

१५ वर्षदेखि बरौलीमा सुरक्षागार्डको काम गर्दै आएका किसनको परिवार पनि सँगै बस्दै आएको छ । अरू वर्ष दसैं मनाउन असोजमा घर आउने गरेका किसन तिहारपछि फर्कन्थे । यो वर्ष भने कोरोना संक्रमणबाट बच्न गत असारमै घर आएका थिए । ‘कोरोनाको डर अब यहाँ पनि उत्तिकै छ,’ उनले भने, ‘आफ्नो सुरक्षामा ध्यान पु¥याएर कर्मथलोमै जानु उचित ठानेर फर्कन लागेका हौं ।’ भारतमा कमाएको पैसाले घरमा बस्नेहरूको गुजारा चल्ने गरेको उनले बताए । आमा, बुबा, दाजु, भाइ, बहिनीलगायत ११ जनाको परिवारको मियो हुन् उनी ।

2

‘उनीहरू मेरै कमाइको भरोसामा छन्,’ उनले भने, ‘आफूले भारतमा कमाएको पैसाले जहानपरिवारको घर खर्च चल्छ ।’ उनीसँगै गाउँका १७ जना बरौली, मुम्बईलगायत भारतीय सहरमा जाँदै छन् । उनीहरू बुधबार घरबाट निस्केका हुन । सरकारले रोजगारी गुमाएर घर फर्केकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको दाबी गरे पनि कोरोना कहरबीच बिदेसिइरहेका युवाले भने कुनै जानकारी समेत नपाएको गुनासो गरेका छन ।

गाउँमा रोजगारी नभएको र भारतका सबैजसो ठाउँमा काम पाइने, रासन सस्तो हुने र ज्याला पनि राम्रो भएकाले आफूहरू वर्षौंदेखि उतै गइरहेको उनीहरू बताउँछन् । ‘गएको वैशाखमा मुम्बईबाट घरमै केही गर्नुपर्छ भनेर फर्केको थिएँ,’ कैलाली टीकापुरका दानबहादुर विकले भने, ‘घरमा पाँच कट्ठा जग्गाको खेतीले खान पुग्दैन । सरकारबाट केही सहयोग पाए तरकारी खेती गरेरै पनि खान पुग्थ्यो होला । यता त्यस्तो केही भएन ।’

चालु आर्थिक वर्षमा प्रदेशका विभिन्न मन्त्रालय अन्तर्गत स्वरोजगार कार्यक्रमका लागि करिब ५ करोड बजेट विनियोजन गरिएको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए । तीमध्ये केही कार्यक्रम सञ्चालनसमेत भइसकेको मन्त्री बोहराले बताए । सरकारी अनुदान र सहुलियतका कार्यक्रम साधारण किसानका लागि नभएर पार्टी कार्यकर्ताका लागि मात्रै आउने गरेको लम्की चुहाका अर्जुन परियारले गुनासो गरे । कैलाली मोहन्याल–७ का तीर्थराज जोशी पनि परिवारसहित भारतको बेंग्लोर जान लागेका छन् । उनी पनि असारमै घर आएका थिए । ‘दसैंको टीकासम्म पर्खियौं,’ उनले भने, ‘हामी त उतैका मान्छे जस्ता हौं । उतै कमाउनु छ, उतै खानु छ । बचेपछि यता पठाउने हो ।’

डडेलधुरा परिगाउँका प्रकाश धामी सहित ६ जना युवा पनि नाकाबाट भारत छिर्दै थिए । उनीहरूले यहाँबाट गएर तुरुन्तै घरमा पैसा पठाउन सके मात्रै परिवारले तिहार मनाउन पाउने बताए । बर्दिया राजापुरका १५ जनाको समूहमा रहेका रमेश सुनुवारले गरिबीका कारण बैंग्लोरमा काम गर्न जान लागेको बताए । ‘भारतमा नेपाली केका लागि जान्छन्, किन जान्छनको एउटै उत्तर हो– गरिबी र बेरोजगारी,’ उनले प्रतिप्रश्न गरे, ‘बरु आउने–जाने समस्या के छ, त्यो सोध्नुहोस् ।’

कैलालीको लम्की राजपुरका ज्ञानश थापा परिवार सहित भारतको पुने सहर जान लागेका छन । ६ जना गाउँले पनि साथमै छन । उनीहरूले पनि आफ्नो परिवार भारत आश्रित भएको बताए । ‘भारत नगए जीवन चल्दैन,’ उनले भने, ‘नेपाल त आफ्नो देश भन्नमात्रै हो । यहाँ हामीसँग न खान पुग्ने जमिन छ न त रोजगारी ।’ नेताहरूका कारण गरिबी र बेरोजगारी बढेको माओवादीका पूर्वलडाकु अछाम साँफेबगरका कमल साउदको गुनासो छ । ‘देश बनाउने योजना कोहीसँग छैन, क्रान्तिका नारा लगाएर सत्ताको भ¥याङ बनाएका नेताहरू झन् खराब निस्के, अनि कसरी बन्छ देश ?’ उनले ज्यान र जहान पाल्न भारतमा नोकरी गर्न जानुपरेको सुनाए ।

कर्णाली प्रदेश सरकारले समेत जनताका लागि राजनीति नगरेको आरोप उनले लगाए । भारतमा कामका लागि जाने नेपालीहरूलाई देशमै रोजगारी दिलाएर विदेशिनबाट रोक्न सरकार असफल भएको उनको ठहर छ । ‘मुख्यमन्त्री ज्यूले हामी जस्ता भारत पस्नेको पीडा बुझ्नुभएको छ तर उहाँले पनि जनताका लागि राजनीति गर्नुभएको छैन,’ उनले भने । सशस्त्र प्रहरी बलको गौरीफन्टा सीमा चेक पोस्टका असई शंकर बोगटीका अनुसार बिहीबार मात्रै १ हजार ७ सय ८७ जना नेपाली भारततर्फ लागेका छन । बुधबार यो संख्या १ हजार ६ सयभन्दा बढी थियो । दसैंको टीकापछिका ३ दिनमा ३ हजार ५ सय जनाभन्दा धेरै नेपाली यो नाका हुँदै भारत पसेको खबरलाई मोहन बुढाऐरले कान्तिपुरमा लेखेका छन् ।