सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । उनका अनुसार ४ वटै प्रयोगशालामा ४ सय ६५ जनाको परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो । कार्कीले सेती अस्पताल प्रयोगशालामा २५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ५, जिल्ला अस्पताल बझाङ प्रयोगशाला १० जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको बताए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलाली १६ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका मात्र ९ जनामा संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ का २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना, घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिएको उनले बताए । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ७९ पुगेको छ । संक्रमितमध्ये ८ हजार १८ जनाले कोरोना जितेका छन् भने ३४ जनाको मृत्यु भएको छ ।