पारी कब्रस्तान, वारी चर्च, बरिपरी हिन्दुः ‘जहाँको धार्मिक सहिष्णुता खलबलिदैं छ’
2020/10/31, 3:22
 
death

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर दुईलाई कैलाली खोलाले छुट्टाएको छ । पारी वडा नम्बर १ को पशुपति टोल छ भने वारि वडा नम्बर २ को सन्तोषी टोल । दुबै वडाहरुमा आवतजावत गर्नका लागि केही समय अगाडी मात्रै पक्की पुल निर्माण भएको छ । यसले वडा नम्बर १ र २ को सामिप्यता अझ बढेको छ । वडा नम्बर १ को पशुपति टोलमा मुस्लिम समुदायको बाहुल्यता छ । बर्षौदेखि उनीहरु पशुपति टोल र टोल आसपासमा बस्दै आएका छन् । उनीहरुले कुरान पढ्ने मस्जिद पनि टोलमै छ । मुस्लिम धर्मग्रन्थ अनुसार कुनै व्यक्तीहरुको मृत्यु भएमा शवलाई गाड्ने चलन रहेको छ । त्यहाँका मुस्लिम समुदायले बर्षौदेखि वडा नम्बर १ मै रहेको चिहानस्थल अर्थात कब्रस्तानमा शव गाड्दै आएका छन् । मुस्लिम समुदायका अगुवाहरुका अनुसार ७० बर्ष पहिलेदेखि वडा नम्बर १ मा रहेको कैलाली खोलाको किनारको जमिनमा कब्रिस्तान बनाईएको छ । छेउमै मदरसा पनि छ । कब्रिस्तानको खोला वाहेकको भागमा पर्खाल लगाईएको छ । 

कब्रिस्तान रहेको वडा नम्बर १ को आसपासमा ठुलै मानव वस्ती पनि छ । अधिकांश दलित समुदायको बसोबास रहेको सो बस्तीमा हिन्दुहरुको वाहुल्यता रहेको छ । हिन्दु बाहुल्यता वस्ती छेउमा मुस्लिम समुदायले शव गाड्दा अहिलेसम्म कोही कसैले पनि विरोध र आपत्ति जनाएका थिएनन् । तर त्यहाँ कोरोनाबाट मृत्यु भएकी एक महिलाको शव गाडिएपछि भने विवाद सिर्जना भएको छ । स्थानीयहरुले कोरोनाबाट मृत्यु भएर गाडिएकी महिलाको शव अन्यत्र लैजान माग गरिरहेका छन् । स्थानीयहरुले कब्रिस्तानको गेटमा तालाबन्दी गरेका छन् । कब्रिस्तान क्षेत्रमा तीन दिनदेखि स्थिति सामान्य नबन्दा सुरक्षाकर्मीहरु परिचालन गरिरहेका छन् । 

कब्रिस्तान रहेको वडा नम्बर १ को खोला वारी वडा नम्बर २ मा कलवरी चर्च रहेको छ । यो पनि खोला किनारमै जोडिएको छ । कलवरी चर्च धनगढीका चर्चहरुमध्येको ठुला र पुरानो चर्च हो । चर्चमा प्रायः हरेक दिन ईसाई धर्माबलम्बीहरुले प्रार्थना गर्दै आएका छन् । अझ शनिबारका दिन भने चर्चमा प्रार्थना गर्नेहरुको घुँईचो नै लाग्ने गरेको छ । चर्च रहेको वरिपरी पनि हिन्दुहरुकै बढी बसोबास छ । केही ईसाई धर्माबलम्बीहरु पनि रहेका छन् । उनीहरुको बिचमा पनि कहिल्यै पनि समस्या सिर्जना भएको छैन् । सो स्थानलाई नियाल्दा हिन्दु, मुस्लिम र ईसाईहरुबीच धार्मिक सहिष्णुता छ । वरु एक अर्काका चाडपर्वहरुमा सहभागीता जनाएर आपसमा खुशी साँटासाट गर्दै आएका छन् । तर विहीवार भएको घटनापछि धार्मिक सहिष्णुता बिग्रिने हो कि भन्ने चिन्ता बढेको छ ।

धार्मिक अगुवाहरुका अनुसार स्थानीय प्रशासनका कारण आपसी सम्बन्धमा तिक्तता आएको हो । कोरोना संक्रमित महिलाको शवलाई कब्रिस्तानमा नभई अन्यत्र कतै गाड्न अनुमति दिएको भए केही पनि समस्या आउने थिएन् । सोही क्षेत्रमा पनि कोरोनाबाट मृत्यु भएकाहरुले आफन्तहरुको शव पनि हेर्न नपाउने तर ती महिलाको आफन्तको रोहबरमा शव गाडेको भन्दै विरोधका स्वरहरु चर्किएका हुन् । 

घटना के हो ? 
सेती प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पतालमा कार्तिक १३ गते कोरोना संक्रमितको मृत्यु भयो । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । ती महिलाको शव धनगढी उप महानगरपालिका १ स्थित कब्रिस्तानमा व्यवस्थापन गरियो । तर लगत्तै केही स्थानीयले मानव वस्ती जोडिएको क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गरिएको भन्दै विरोध गरे । गाडिएको शव अन्यत्र व्यवस्थापन गर्नुपर्छ भन्दै टायर बालेर प्रदर्शन संगै कब्रिस्तानमै तालाबन्दी गरे । कोरोना संक्रमितको शव गाडेको भन्दै स्थानीयले विरोध जनाए । शव लगिएको एम्बुलेन्सभित्र थुनियो । कब्रिस्तानको गेटमा स्थानीयले तालाबन्दी गरे । त्यसपछि घटनाले तनावको अवस्था सिर्जना गर्यो ।  

चिहान बस्तीभन्दा टाढा बनाउन माग
स्थानीयहरूले चिहान बस्तीभन्दा टाढा बनाउनुपर्ने माग गर्न थालेका छन् । हामीले कहिल्यै मुस्लिम समुदायको चिहानको विरोध गरेनौं । तर, कोरोना महामारीबाट मृत्यु भएकी महिलाको गाउँकै बीचमा रहेको चिहानमा शव व्यवस्थापन गर्दा भने जोखिम बढेको महसुस आफूहरूले गरेको स्थानीय भरत विकले बताए । ‘समुदायको बीचमै रहेको चिहानस्थलमा कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गर्दा महामारी गाउँमै फैलन सक्ने त्रास हामीमा छ’, उनले भने, ‘गाउँको बीचमा रहेको कब्रिस्तानमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा समुदायमा कस्तो असर पर्ला भनेर प्रशासनले सोचेन ।’

विसं २०१५ सालतिर स्थापना भएको चिहानस्थल चारैतिर मानव बस्ती बिस्तार भएपछि स्थानीहरूले बन्द नै गर्नुपर्ने माग गरेका छन् । घर नजिकै चिहान स्थल बनाएपछि बालबालिकाहरू धेरै त्रसित हुने गरेको स्थानीय धनबहादुर कोलीले गुनोसो गरे । ‘जुन बेला कब्रिस्तान स्थापना गरिएको थियो, त्यतिबेला मानव बस्ती थिएन’, उनले भने, ‘अब चोरैतिर बस्ती बसेको छ । विकल्प खोज्नुपर्छ ।’  कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि दोस्रो संस्करण २०७७ को दफा २ मा कोरोनाका कारण मृत्यु भएको शवको परम्परागत चलिआएका अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अपनाइ अन्त्येष्टि गर्नुपर्ने र मृतकको धर्म परम्परा अनुसार शवको सम्मान गर्दै निजका आफन्तहरूलाई समेत सुरक्षित राख्नुपर्ने उल्लेख गरेको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘हामीले कोरोनाका कारण मृत्यु भएकाहरूको शव व्यवस्थापन कार्यविधि अनुसार नै गर्न खोजेका हौँ ।’ टोलका बीचमा चिहानस्थल भएका कारण विरोध भएको बताउँदै उनले भने, ‘आगामी दिनमा हामी अब त्यसलाई सच्चाएर लैजान्छौं ।’ उनले तालाबन्दी र अर्को शव व्यवस्थापनको सवालमा मुस्लिम समुदाय र तालाबन्दी गर्ने पक्षबीच छलफल गरिरहेको जानकारी दिए ।

पहिले कब्रिस्तान सिल, पछि खोल्न अनुमति
केही स्थानीयको विरोध गरेपछि धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्म भन्दै सो कब्रिस्तान नै सील गर्यो ।  धनगढीमा कब्रिस्तान (चिहान घाट) मै बन्देज लगाएपछि दुई दिनदेखि मुस्लिम पुरुषको शव घरमै राखियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि रोक लगायो । मुस्लिम परिवारले २४ घण्टाभन्दा वढी हुँदा समेत अन्तिम संस्कार गर्न पाएनन् । कब्रिस्तानमै शव गाड्न रोक लगाइएपछि शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शवलाई आफन्त र परिवारहरुले अन्तिम संस्कार गर्न पाएनन् । तर पछि प्रशासनको अनुमतिपछि मृत्यु भएको दोस्रो दिन मात्रै दाहसंस्कार गर्न पाए । जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबिच शुक्रबार मृत्यु भएका धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहमद जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएपछि उनको दाह संस्कार गरिएको हो । प्रशासनमा दुवै पक्ष बसेर छलफलपछि शव व्यवस्थापनको काम भयो । कब्रिस्तान सिल भएपछि दुई दिनदेखि शव घरको आँगनमा राखिएको थियो ।

मुस्लिम समुदायलार्ई पिडा
‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तीहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार मुस्लिम समुदायले कब्रिस्तानमै शवको व्यवस्थापन गर्न पाउँछन् । मुस्लिम सामुदायले पनि सदियौंदेखि चल्दै आएको परम्परा अनुसार नै अन्तिम संस्कार गर्न पाउनुपर्छ । मुस्लिम युवा मुस्ताक अन्सारी भन्छन्, ‘हाम्रो धार्मिक परम्परा अनुसार कब्रिस्तानमै शव गाड्ने प्रचलन छ । अर्को कुरा, यहाँ मानववस्ती पहिलेदेखि छ कि, कब्रिस्तान ? मानव वस्ती बस्नु भन्दा पहिल्यैदेखि यो ठाउँमा कब्रिस्तान छ । संयौं वर्षको इतिहास छ । कसैले हाम्रो मस्जिद नै सार्नुपर्छ भन्यो भने, मस्जित नै सार्ने त ? यो कुरालाई नजर अन्दाज गर्न मिल्दैन ।’ संक्रमित शव गाडेको विषयमा भएको विरोधले पीडित र मुस्लिम समुदायलाई पीडित बनायो । मृतकको शवमाथि नै अपमान हुने गतिविधि भएको भन्दै मुस्लिम समुदायका अगुवाहरु दुखी भएका छन् । 

शव व्यवस्थानपछि कोरोना सर्दैनः स्वास्थ्य मन्त्रालय
कार्यविधि अनुसार शव व्यवस्थापन गरेपछि कोरोना संक्रमणको जोखिम नहुने बताइएको छ । मृतकको शव जलाई सकेपछि वा गाडेपछि संक्रमण जोखिम नहुने बताइएको हो । जातीय संस्कार अनुसार शव जलाउने वा गाड्ने गरिएको जानकारी जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउँछन् । डाक्टर गौतमले भने,–‘शव व्यवस्थापनमा हुँदै आएको विरोध नबुझेरै भैरहेको छ । कार्यविधि अनुसार शव गाडेपछि वा जलाइसकेपछि संक्रमण फैलिन्न । जसको जे संस्कार छ, त्यही अनुसार नै गर्नु दिनुपर्छ ।’ परिवार र आफन्तले डराएर शव छुन नचाहेका कारण सुरक्षाकर्मीले सद्गति गर्नु परेको उनको भनाइ छ । सुरक्षा व्यवस्था अपनाएर परिवारलाई परम्परा अनुसार शवको सद्गति गर्न दिन सकिने पनि गौतम बताउँछन् ।

संक्रमितको शव व्यवस्थापनमा थपिदैं चुनौती
धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएपछि ती महिलाको शव धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा व्यवस्थापन गरियो । तर लगत्तै केही स्थानीयले मानव वस्ती जोडिएको क्षेत्रमा संक्रमितको शव व्यवस्थापन गरिएको भन्दै विरोध गरेपछि स्थिति विग्रियो । केही दिन अगाडी पनि धनगढीकै कोरोना अस्पतालमा मृत्युु भएका एक जनाको शव व्यवस्थापनको लागि नेपाली सेनाले गोदावरी नगरपालिका स्थित सामुदायिक वनमा लगेको थियो । तर स्थानीयले त्यहाँ पनि विरोध गरे । त्यहाँका स्थानीयले आफ्नो वस्ती नजिक संक्रमितको शव गाड्न नहुने भन्दै विरोध गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा बताउँछन् ।

केही साता अगाडी सेनाको टोली कोरोनाबाट मृत्युको विरामीको शव त्रिनगर भन्सार स्थित नेपाल भारत दशगजा क्षेत्रमा व्यवस्थापनको लागि लगेको थियो । तर भारतीय सुरक्षा अधिकारी दशजगा क्षेत्रमा व्यवस्थापन गरिनु हुन्न भनेर विरोध जनाएको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड बताउँछन् । यी प्रतिनिधी घटना मात्रै हुन् । कोरोना संक्रमणको दर बढे संगै मृत्यु हुनेको संख्यामा पनि बढ्दै गएको छ । तर संक्रमितको शव व्यवस्थापनको क्रममा स्थानीयको चर्को विरोध हुन थालेपछि चुनौती थपिएको हो । प्रमुख जिल्ला बोहरा भन्छन्,‘कोरोनाबाट मृत्यु भएकालाई जहाँ व्यवस्थापन गर्न जान्छौ, त्यहै विरोध हुन्छ । सामुदायिक वन तथा स्थानीयले विरोधै विरोध गरिरहेका छन् । स्थानको अभाव भयो ।’

धनगढीका मेयर वड थप्छन्, ‘जता पनि वस्ती छ । वस्ती नजिक कोही पनि शव व्यवस्थापन गर्न दिएको छैन । निकै चुनौती छ । कोरोना यस्तो भैसक्यो, कि कुनै दिन आज विरोध गर्नेकै घरमा घटना घट्यो भने के हुने ? त्यसैले जनतालाई नोक्सान नहुने गरी हामी जग्गाको पहिचानमा लागेका छौ । जनतामा पनि सकारात्मक सोचको विकास हुन जरुरी छ ।’

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न सरकारले ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तीहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि (दोस्रो संशोधन) २०७७ जारी गरेको छ । । जसको आधारमा नै हालसम्म शव व्यवस्थापन हुदै आएको छ । कार्यविधिको दोस्रो बुँदामा उल्लेख छ, ‘कोभिड १९ को कारण मृत्यु भएको शवको परम्परागत चली आएको अन्त्येष्टि गर्ने स्थानमा नै विशेष सावधानी अप्नाई अन्त्येष्टि गर्नु पर्दछ । मृतकको धर्म परम्परा अनुसार शवको सम्मान गर्दै निजको आफन्तलाई समेत सुरक्षित राख्नु पर्दछ ।’