क्वारेन्टाईनमा राखेकालाई योग अभ्यास सिकाईने
2020/05/26, 11:33
 
dhangadhi

धनगढी उप–महानगरपालिकाले सामाजिक दुरी कायम गर्दै क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई योग अभ्यास र स्वास्थ्य सम्वन्धी ज्ञान सिकाउने भएको छ । धनगढी उप–महानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यसका लागि क्वारेन्टाईनमै योग प्रशिक्षकहरुलाई खटाईने भएको छ । धनगढी उप–महानगरपालिकाले आफै तालिम दिएर यस अघि नै विद्यालयका ३० जना शिक्षकहरुलाई योग प्रशिक्षक तयार गरेको छ– धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, उनीहरुलाई नै परिचालन गरिने छ । प्रशिक्षकहरुले बिहानको समयमा योग अभ्यास गराउने छन् । यसले उनीहरुमा स्फूर्ति ल्याउनेछ ।

त्यसैगरी क्वारेन्टाईनमा रहेकाहरुलाई स्वास्थ्य सम्वन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मीहरु पनि परिचालन गरिने उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन । भट्टका अनुसार स्वास्थ्यकर्मीले कोरोना लगायत अन्य रोग रोकथामका उपाय, सरसफाई र क्वारेन्टाईनमा रहेकाहरुको मनोवल उच्च बनाउने किसिमका ज्ञान दिने छन् । धनगढी उप–महानगरपालिकाका १९ वटा क्वारेन्टाईनमा ३ सय १० जना रहेको क्वारेन्टाईन व्यवस्थापन उप–समिति संयोजक नारायण प्रसाद बरालले जानकारी दिए ।