अन्नको भण्डारमा मलको हाहाकारः हिउँदे बालीका लागि पनि मल पाएनन् किसानले
2020/11/02, 8:53
 
kroshi

कैलालीको भजनी नगरपालिका लालबोझीका किसान सन्तराम चौधरीले गहुँ छर्नका लागि दसैँअघि नै खेत खनजोत गरेर तयार पारेका छन् । तर, रासायनिक मल नपाउँदा गहुँ छर्न सकेका छैनन् । गाउँ र आसपासका सहकारीहरूमा दैनिक धाइरहेका उनले एक बोरा पनि मल पाएका छैनन् । दुई बिघा आफ्नो र बाँकी ठेक्कामा गरी ११ बिघामा खेती गर्दै आएका उनले बर्खे सिजनमा पनि मलको यस्तै अभाव भोगेका थिए । गाउँको सहकारीमा मल नपाएपछि लम्की, टीकापुर तथा टीकापुरपारि पर्ने बर्दियाको राजापुरमा समेत मल खोज्दै पुगे पनि नपाएको गुनासो उनले गरे । 

मल नभएर गहुँ छर्न नपाउँदा खेत सुक्न थालेको उनको गुनासो छ । चौधरी भन्छन्,    ‘मलका लागि दैनिकजसो डुलिरहेको छु, तर कहीँ पनि पाइएन । मल नहालौँ भने पनि उब्जनी हुँदैन ।’ ११ बिघामा गहुँ छर्न तत्काल कम्तीमा २० बोरा डिएपी चाहिने उनको भनाइ छ ।  गौरीगंगा नगरपालिकाको मसुरियाका किसान टेकबहादुर बस्नेतले पनि रासायनिक मल नपाउँदा गहुँ छर्न सकेका छैनन् । १२ कट्ठा जमिनमा मल नहालेरै तोरी छरेको उनले बताए । बस्नेतले भने, ‘मल नपाएकाले खेत पनि जोतेको छैन । अहिले जोतेर पनि मल कहिले पाइने हो ? त्यतिन्जेल माटो सुकिहाल्छ ।’ गाउँमा कहिलेकाहीँ आउने सहकारी मल पनि पहुँच हुनेहरूले लाने गरेको बस्नेतले बताए । 

बस्नेत भन्छन्, ‘धानबाली लगाउने वेला पनि मल हाल्न नपाउँदा पोहोरको जस्तो यसपालि उत्पादन भएन । गहुँ पनि मल नहालेरै छर्नुपर्छ कि भन्ने पिर छ ।’ सीमावर्ती क्षेत्रका किसानले पहिले भारतबाट मल ल्याउने गरेका थिए । तर, अहिले नाका बन्द रहेका कारण भारतबाट मल ल्याउन सहज छैन । केही किसानले भने यहाँ मल नपाएपछि लुकिछिपी भारतबाट ल्याएका छन् । 

सीमावर्ती क्षेत्र लालबोझीका किसान ऋषिकेश चौधरीले भारतबाट तस्करी गरेर ल्याउन नसक्नेले मलविनै गहुँ छर्नुपर्ने अवस्था रहेको बताए । उनी भन्छन्, ‘गाउँमा धेरै किसान मल नपाएर हैरान छन् । छिटपुट रूपमा भारतबाट पनि तस्करी भइरहेको छ । गाउँको सहकारीमा मल आउँदैन । आएका वेला पनि एक घरलाई एक बोराका हिसाबले दिइन्छ । १०–१२ बिघामा खेती गर्नेलाई एक बोरा मल हात्तीको मुखमा जिराजस्तै हो ।’

बर्खे सिजनमा पनि मलको चरम अभाव खेपेका यहाँका किसानले हिउँदे बाली लगाउने वेला पनि मल पाएका छैनन् । रासायनिक मलविनै खेती लगाउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । गहुँ छर्ने वेला डिएपी मल आवश्यक पर्छ, तर सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा डिएपी मलको मौज्दात छैन । 

सरकारी तथ्यांकअनुसार अन्न भण्डारका रूपमा रहेको कैलालीमा हिउँदे बालीका लागि करिब ५ हजार मेट्रिकटन डिएपी र १० हजार मेट्रिकटन युरिया तथा ५ सय मेट्रिकटन पोटास मल आवश्यक पर्छ । डिएपी गहुँ छर्ने वेला र युरिया बिरुवा हुर्कने वेला हाल्ने गरिन्छ । तर, असारयता साढे ७ सय मेट्रिकटन डिएपी मात्रै बिक्री गरिएको कृषि कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । युरिया मल भने कृषि सामग्रीले असारदेखि नै बिक्री गरेको छैन । डिएपी मल आउने क्रममा रहेकाले कात्तिक २०–२२ गतेबाट सहकारीलाई बिक्री गरिने प्रमुख बोगटीले जानकारी दिए । 

अनुदानको मल बिक्री गर्ने अर्को निकाय साल्ट ट्रेडिङले हिउँदे सिजनका लागि कैलालीमा १ हजार ३ सय २४ मेट्रिकटन युरिया, २ सय ६४ मेट्रिकटन डिएपी र १ हजार ८ सय मेट्रिकटन सिंगल सुपर फस्फेट (एसएसपी) मल बिक्री गरेको जनाएको छ । डिएपीको काम गर्ने एसएसपी गैरअनुदानको मल हो । साल्ट ट्रेडिङमा अहिले युरिया र डिएपी मलको मौज्दात सकिएको छ ।