कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत्र ११ गतेदेखि देशैभरि लकडाउन घोषणा गरेसँगै बन्द गरिएको खप्तड पर्यटन क्षेत्र कार्तिक १ गतेबाट खुलेसँगै आन्तरिक पर्यटकको आवागमन बढेको छ। खप्तड राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन राजु घिमिरेले लकडाउन खुलेपछि अहिलेसम्म ३१३ जनाले खप्तडको भ्रमण गरेको बताए। भ्रमणमा आउने आन्तरिक पर्यटकमध्ये ३०१ जना पुरूष र बाँकी १२ जना महिला रहेको उनले बताए।
लकडाउनका कारण घरमै बस्न बाध्य थुप्रै युवायुवती लकडाउन खुलेसंगै घुम्न निस्कन थालेका छन्। युवायुवतीसंगै अन्य उमेर समुहका मानिसहरू समेत परिवारका सदस्यहरूसंगै नजिकै रहेका विभिन्न धार्मिक तथा पर्यटक क्षेत्र अवलोकन गर्न आउन थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन्।
डोटी हुदै खप्तड जाने मुख्य नाका पुर्वीचौकी गाउँपालिका–२ भिङ्ग्रानामा खप्तड होमस्टे सञ्चालन गरिरहेका पर्यटन व्यवसायी दीपक बहादुर खड्काले अहिले दैनिक ५० जनको हाराहारीमा खप्तड घुम्न आउने गरेको बताए। उनले खप्तड घुम्न आउनेमा युवायुवतीहरु बढी रहेको बताए। खप्तड घुम्न आउनेहरुलाई वासवस्न र खानपिनमा समस्या भएपछि करिब ५० लाख रुपैयाको लगानीमा खड्काले होमस्टे संचालनमा ल्याउन लागेका छन्। अहिले आंशिकरूपमा सञ्चालनमा रहेको होमस्टे आगामी बैशाखबाट भने पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए।
खप्तड परिचय
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज वि।सं। २०४२ सालमा स्थापना भएको हो। निकुन्जमा सल्ला, खसुर र निगालाको जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन्। यहाँ रतुवा मृग, कस्तुरीमृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता चराचुरुङ्गीहरू पाईन्छन्।
२२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ। त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन्। यी स्थानहरूमा गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन्। खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ। पर्या–पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार भने हुन सकेको छैन।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्छ।
कसरी पुग्ने खप्तड र
काठमाडौँबाट सडक मार्ग तथा हवाई मार्ग हँुदै डोटीसम्म पुग्न सकिन्छ। काठमाडौंबाट डोटीसम्म रात्रीबस तथा प्लेनको सुविधा रहेको छ। बुद्ध तथा श्री एयरलाईन्सले धनगढीसम्म दैनिक दुई÷दुई उडान गर्दै आएका छन्। त्यस्तै, धनगढीबाट डोटीसम्म हप्ताको दुईदिन मंगलबार र शुक्रबार समिट एयरले उडान भर्दै आएको छ। डोटीको दीपायलबाट डेढ घण्टाको सडक यात्रा पछि झिंग्रानासम्म पुग्न सकिन्छ। त्यहाँबाट विचपानी हुदै खप्तड पुग्न करिब ६ देखि ८ घण्टा पैदल हिड्नुपर्ने हुन्छ।
खर्च कति लाग्छ र
काठमाडौ देखि धनगढीसम्म बसमा आउँदा २१ सय र धनगढी देखि डोटीको सिलगडीसम्म बसमा पाँच सय ५० र त्यहाँबाट झिंग्रानामासम्म तीनसय ५० रुपैयाँ तिर्नुपर्छ। धनगढीबाट जिप रिजर्भ गरेर जाँदा भने १३ हजार रुपैयाँ लाग्छ।
त्यस्तै, हवाई मार्ग भएर जाँदा भने काठमाडौं धनगढी तीनहजार ५ सयदेखि १२ हजारसम्म खर्च लाग्छ। धनगढीबाट जहाजमा डोटीसम्म तीनहजार ४ सय रूपैयाँ भाडा लाग्छ। त्यहाँबाट झिंग्रानासम्म सार्वजनिक यातायातमा चारसय रुपैया खर्च लाग्छ। त्यस्तै, खान र बस्नको लागि झिंग्रानामा रहेको होमस्टेमा प्रति व्यक्ति खाना सहित दैनिक एकहजार ५ सय रुपैया खर्च लाग्छ भने खप्तडमा बस्न र खानको लागि प्रति व्यक्ति १२ सय देखि १५ सय रुपैयासम्म खर्च लाग्छ।
घुम्नका लागि उपयुक्त समय कुन हो
खप्तड प्रायः बाह्ै महिना घुम्न सकिन्छ। तर, घुम्नको लागि उचित समय भनेको फागुनदेखि कार्तिकसम्म उपयुक्त मानिन्छ। त्यसपछि हिउँ पर्ने भएकोले केही जोखिम मानिन्छ।