सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
2020/11/04, 8:55
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । बुधबार प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६४ जना थपिएसँगै संक्रमितको संख्या १० हजार ९ पुगेको स्वास्थ्य तथना जनसंख्या मन्त्रालयले जनाएको छ । तर सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार ६ सय ९३ मात्र पुगेको जनाएको छ । 

मन्त्रालयले सुदूरपश्चिम घर भई प्रदेश बाहिर बसोबास गर्नेहरुको संख्या समेत उल्लेख गर्दा संघीय सरकारको तथ्यांक बढी देखिएको दावी गरेको छ । बुधबार कैलालीका ४५ सहित थप ६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला र बझाङ जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।

उनका अनुसार सेती अस्पताल प्रयोगशालामा ६०, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १ जनामा संक्रमण पुष्टि भएको हो । ३ वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ३५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा  ३ सय ३८ जनाको परीक्षण गरिएकोमा ६० जनामा संक्रमण पुष्टि भएको बताए । श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ का ३ जना, यस्तै वडा नम्बर ३ र ४ का २/२ जना, यसैगरी वडा नम्बर ७, ९ र १३ का एक/एक जनामा संक्रमण पुष्टि भएको उनले बताए । यस्तै कैलालीकै बर्दगोरिया गाउँपालिकाका ९ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३र३ जना र गोदावरी नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको छ । 

उता कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ जना, भीमदत्त नगरपालिकाका ६ जना र ठेगाना नखुलेका एक जनामा पनि कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै बाजुराका एक जनामा समेत कारोना पुष्टि भएको छ ।