कैलालीको जोशीपुर गाउँपालिकामा राहतको चामलमा प्लाष्टिक र मिसावट
2020/05/27, 10:37
 
joshipur

कैलालीको जोशीपुर गाउँपालिकाले राहतमा वितरण गरेको चामलमा प्लाष्टिक मिसावट गरेको भेटिएको छ । गाउँपालिकाले वडा नम्बर ६ को कार्यालय मार्फत राहतमा वितरण गरेको चामलमा प्लाष्टिक मिसावट गरिएको भेटिएको हो ।

राहतको चामलमा प्लाष्टिक भेटिएपछि स्थानीयले गाउँपालिकालाई नै फिर्ता गरिदिएका छन् । चामलमा प्लाष्टिक भेटिएपछि वडा कार्यालयलाई फिर्ता गरेको स्थानीय दिक्षित कठरियाले बताए । कठरियाका अनुसार गाउँपालिकाले राहतमा उपलब्ध गराएको २५ किलोको चामलको कठ्ठामा प्लाष्टिक भेटिएको हो ।

यता वडा नम्बर ६ का अध्यक्ष नत्थुप्रसाद डगौराले राहतमा वितरण गरिएका ७ वटा कठ्ठामा प्लाष्टिक मिसावट गरिएको पाईएको स्वीकार गरे । उनले गाउँपालिकाले आपूर्तिकर्ताबाट खरिद गरेर पठाएपछि वडा कार्यालयले स्थानीयलाई वितरण मात्र गरेको बताए । गाउँपालिका कार्यालयले भने आपुर्तिकर्ताको विवरण लुकाएको छ ।

जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज उपाध्याय र सूचना अधिकारी सिद्धराज जोशीले राहतको चामलमा प्लाष्टिक भेटिएको विषयमा जानकारी दिन चासो देखाएनन् ।