सुदूरपश्चिममा कृषि अनुदान कोटा ५ हजार, आवेदन ८० हजार
2020/11/07, 10:40
 
rojkhar

रोजगारी गुमाएर स्वदेश फर्किएकामध्ये सुदूरपश्चिम प्रदेश सरकारले ५ हजार जनालाई कृषि अनुदान दिने योजना बनाएकामा ८० हजारको आवेदन परेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला कार्यालयहरूबाट भदौ दोस्रो सातादेखि आवेदन माग गरेको थियो ।

कोरोना महामारीबाट प्रभावित भई भारत लगायत विभिन्न देशबाट रोजगारी गुमेर स्वदेश फर्किएकालाई कृषि तथा पशुपालन व्यवसाय मार्फत स्वरोजगार बनाउने सरकारको योजना छ । योजना अनुसार मन्त्रालयले सम्बन्धित व्यक्तिहरूबाट आफूले गर्न चाहेको व्यवसायका लागि इच्छापत्र सहित आवेदन माग गरेको थियो ।

प्रदेशका नौ वटै जिल्लाबाट आवेदन आएको मन्त्रालयका प्रवक्ता डाक्टर हेमराज अवस्थीले बताए । परेका आवेदनमध्ये पशुपंक्षीमा आधारित ७० हजार र व्यावसायिक कृषितर्फ १० हजार छन । मन्त्रालयले जिल्ला स्थित कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रबाट कार्यान्वयन हुने गरी १५ करोड विनियोजन गरेको जनाएको छ । अत्याधिक संख्यामा आवेदन परेपछि मन्त्रालयका अधिकारीहरू अन्योलमा पर्दा छनोटको काम रोकिएको छ ।

भदौमै प्रक्रिया सुरु गरेको भए पनि हालसम्म अनुदान पाउनेहरूको नाम छनोट हुन सकेको छैन । ‘सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रलाई बजेट सहित सबै अख्तियारी दिइसकेका छौं,’ प्रवक्ता डाक्टर अवस्थीले भने, ‘५ हजारले पाउने हुन्, ८० हजारको आवेदन परेकाले छनोट गर्न सजिलो हुने त कुरै छैन ।’ मंसिर महिनाभित्र कार्यक्रम कार्यान्वयन हुने उनको भनाई छ ।

कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत मौरीपालन, भेडाबाख्रा, बंगुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सुदूरपश्चिमका ८८ वटै स्थानीय तह, जिल्ला स्थित कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रबाट आवेदन संकलन गरेको थियो । कृषितर्फ ३० हजार र पशुपक्षी पालनतर्फ अधिकतम ६० हजार रुपैयाँ प्रतिव्यक्ति प्रदान गर्ने योजना छ ।

‘सबैभन्दा बढी आवेदन कैलालीबाट परेका छन्,’ अवस्थीले भने । साँच्चै काम गर्नेकै हातमा अनुदान परोस् भनेर सही व्यक्ती छनोट गर्न चुनौती भएकाले पनि प्रक्रियामा भने ढिलाई नभएको दाबी उनले गरे । ‘कार्यविधि बनाएर मात्रै कार्यक्रम कार्यान्वयन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अब सबै जिल्ला अन्तिम चरणमा पुगेका छन ।’

सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएकाहरू थिए । अनुदानका लागि आवेदन दिएका पनि पाउने निश्चित नभएपछि फेरि धमाधम भारत फर्किरहेका छन् । ‘आवेदन दिएकाहरूमध्ये पनि १० देखि १५ प्रतिशत त सम्पर्कमा छैनन्,’ बाजुरा स्थित कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत मीनप्रसाद जैसीले भने, ‘सम्पर्कमा नभएका धेरैजसो भारत फर्किसकेको अनुमान छ ।’
कृषि ज्ञान केन्द्र बाजुरामा १ हजार ८२ जनाले आवेदन दिएका छन् । मन्त्रालयबाट ५० लाख बजेट प्राप्त भएको जनाउँदै अधिकृत जैसीले भने, ‘प्राप्त निवेदनहरूमाथि छानबिन गरेर एक सय ३० जनालाई अनुदान दिने योजना छ ।’

अधिकांशले तरकारी खेती गर्ने भनेर आवेदन दिएका छन् । एक जनाले ३० हजार अनुदान पाउनेछन् । ‘काम गर्नेका लागि ३० हजार पनि व्यवसायमा जग बनाउने आधार हुन्छ,’ उनले भने । बाजुरा स्थित पशु सेवा विज्ञ केन्द्रलाई ८० लाख बजेट आएको र त्यसका लागि ६ हजार ३ सयको आवेदन परेको निमित्त प्रमुख सिद्धराज जैसीले बताए । कार्यविधिले निर्धारण गरेको मापदण्ड अनुसार भैंसीपालनका लागि ६० हजार, बंगुरपालनमा ५० हजार, बाख्रामा ४० हजार, माछा र कुखुराका लागि ३० हजार रुपैयाँका दरले अनुदान दिने योजना रहेको उनको भनाई छ ।

बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराका दिनेश बुढाले अनुदानका लागि फारम भरेकाहरूमध्ये पनि कतिपय कामको खोजीमा भारत फर्किसकेको बताए । ‘म पनि केही सहयोग पाइन्छ कि भनेर कुरेर बसेको छु,’ उनले भने, ‘हाम्रो गाउँका थुप्रै युवा पनि भारत फर्कने तयारीमा छन् । सहयोग पाउने ठेगान नभएकाले म पनि फर्किन्छु होला ।’ यो समाचार कान्तिपुरले लेखेको छ ।