कोरोना संकटः संक्रमित खुलेयाम डुल्छन् बजार, लाचार तीनै तहका सरकार !
2020/11/07, 2:46
 
corona

सुदूरपश्चिममा कोरोना संक्रमण भयावह बन्दै गएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार एक सय ९ पुगेको छ । संक्रमितमध्ये संक्रमण पुष्टि भएका ८ हजार २ सय बढीले कोरोना जितेका छन भने ३६ जना संक्रमितको मृत्यु भएको छ । यता सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमै उपचारका क्रममा ९ जनाले ज्यान गुमाएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले अस्थायी कोरोना अस्पतालमा ४९ जना उपचार गराईरहेका छन् । उनीहरुमध्ये जटिल अवस्थाका १७ जनाको आईसियु र भेन्टिलेटरमा उपचार भईरहेको छ । 

कोरोना अस्पताल संक्रमितले खचाखच 
सेती प्रादेशिक अस्पतालको बिशेष कोरोना अस्पताल संक्रमितले खचाखच भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेतीको विशेष कोरोना अस्पतालका वेडहरु संक्रमितले भरिएका हुन् । ५० शैयाको अस्थायी अस्पतालमामा अहिलेसम्म ४९ जना संक्रमित रहेका छन् । कोरोना अस्पतालका सबै वेडहरु संक्रमितले भरिएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल चलिरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

अस्पतालमा उपचार गराई रहेका संक्रमितहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको आईसियु र भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । अस्पताल भर्ना भएका संक्रमितमध्ये सबैभन्दा धेरै कैलालीका ३८ जना संक्रमित छन् । त्यसैगरी कञ्चनपुरका ४, डडेल्धुराका २, अछामका २, दार्चुला, बझाङ र बैतडीका १÷१ जना संक्रमित रहेका छन् ।  

खुलेआम बजार डुल्छन् संक्रमित
धनगढी भाडामा बसिरहेका टीकापुरका एक जनामा केही दिनअघि संक्रमण पुष्टि भयो । स्वाब टेस्ट गर्न दिएका उनी रिपोर्ट आउनु अघिसम्म हिँडडुल र घुमफिरमै थिए । रिपोर्ट आएपछि पनि बजार आउन भने छाडेनन् । डेरा गरी बसिरहेका उनी रिपोर्ट पोजेटिभ आएपछि निकै समस्यामा परे । सरकारी आइसोलेसनमा चाप बढी भएका कारण उनी त्यहाँ जान पाएनन् । कहाँ बस्ने, के गर्ने अन्योलका बीच उनी घरबेटीलाई पनि जानकारी नगराई आफ्नै डेरामा बसे ।

घरमा बस्ने सबैले प्रयोग गर्ने एउटै धारा, एउटै बाथरूम बाध्यताका सामु उनले त्यसको बेवास्ता गरे । त्यसको केही दिनपछि घरबेटीले सो कुराको जानकारी पाए । कोठामै बसेका बेला पनि ती संक्रमित व्यक्ती दाल, चामल लगायतका अत्यावश्यक सामग्री लिन आफैँ बजार पुग्थे । घरबेटीले थाहा पाएपछि उनलाई साँझसम्म कोठाबाट निस्केर जान उर्दी जारी गरे । त्यसपछि झनै समस्यामा परेका उनी धनगढीकै एक होटेलमा केही दिन बसे ।

त्यहाँ पनि उनले आफू संक्रमित हुँ भन्ने जानकारी गराएनन् । त्यसको केही दिनमै उनको दोस्रो रिपोर्ट नेगेटिभ आयो र उनी अहिले धनगढीमै छन् । यो त एक प्रतिनिधि घटना मात्रै हो । धनगढीमा बाध्यताले आइसोलेसनमा नबसेका र हिँडडुल गरिरहेकाहरू अरू पनि भेटिन्छन् । १४ दिनको अवधिभित्र संक्रमित घर बाहिर निस्किएको पाइएमा कारवाही गर्ने सरकारले जनाए पनि हालसम्म कसैमाथि कारवाही भएका भने देखिएको छैन । 

भारतबाट आउनेहरू पनि सिधै घरमा 
गत साउन महिनासम्म भारतबाट आउनेहरूलाई नाकाबाटै सोझै स्थानीय तहले तयार पारेका क्वारेन्टीनमा राखिन्थ्यो । तर हाल भने भारतबाट आउने सबै सिधै आ–आफ्नो घर गइरहेका छन् । साउन अघि नाकामै परीक्षणको प्रयास पनि भएको थियो तर अहिले भने न उनीहरूको परीक्षण भइरहेको छ, न त क्वारेन्टीनमा नै राखिन्छ । ‘घरमा साना बालबालिका र बुढा बुवाआमा छन्, भारतबाट आइरहेका अछामका सन्तोष कुँवरले भने,’ परीक्षण विनै घर जान डर लागिरहेको छ ।

पहिला–पहिला त क्वारेन्टीन थियो । हामीलाई पनि क्वारेन्टिनमा राखेर परीक्षण गराइदिएको भए ढुक्क भएर घर जान हुन्थ्यो ।’ ‘साउन महिनासम्म त भारतबाट आउने नागरिकहरूलाई पनि  लिन स्थानीय तहबाटै गाडी नाकासम्म आउँथे तर अहिले त्यस्तो छैन । भारतबाट आउनेहरू खुलेआम धनगढी बजार छिरिरहेका छन्, यसले गर्दा संक्रमण झन् भयावह बन्छ ।’, त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने ।

प्रयोगशाला बढे, बढेन परीक्षण
धनगढीमा पहिलोपटक एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि चैतमा सेती प्रादेशिक अस्पताल अन्तर्गत एक प्रयोगशाला स्थापना गरी अन्यको पनि परीक्षण थालियो । त्यसपछि प्रदेशमा कोरोना परीक्षण हुन थाल्यो । एउटै मेसिनबाट परिक्षण गर्दा संकलित स्वाबहरूको चाप बढी भएपछि परीक्षणका लागि नमूना काठमाडौं पठाउने क्रम भने यथावत् नै रह्यो । कोरोना संक्रमण बढ्दै गएपछि निजी क्षेत्रको पहलमा त्यसपछि डडेल्धुरा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो ।  

त्यति मात्रै हैन सुदूरपश्चिम प्रदेश सरकारद्वारा फेरि एकै पटक थप तीन प्रयोगशाला स्थापना भए । धनगढीमा एउटै प्रयोगशालाले नधान्ने भन्दै थप एक धनगढीमा र डोटी तथा बैतडीमा पनि एक एक प्रयोगशाला स्थापना गरेर परीक्षण थालियो । त्यस लगत्तै अछाममा पनि प्रयोगशाला स्थापना गरी परीक्षण थालियो । ‘हाल सुदूरपश्चिममा दैनिक ६ हजार नमूना परीक्षणको क्षमता छ ।’ प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘तर परीक्षण भने दैनिक एक हजारको संख्यामा पनि छैन । आवश्यक जनशक्ति अभावमा क्षमता अनुसारको परीक्षण हुन सकिरहेको छैन ।’

‘प्रदेशमा हाल ६ ठाउँमा प्रयोगशाला छन् । जनशक्ति अभावले धनगढीमा पछि जडान गरिएको मेसिन प्रयोगविहीन छ ।’ उनले भने, ‘पहाडी जिल्लामा दैनिक दुई तीन घण्टा विद्युत् अवरुद्ध हुन्छ, यसले पनि परीक्षण गर्न समस्या भईरहेको छ । जनशक्ती थप नभएसम्म परीक्षणको दायरा बढ्न सक्दैन ।’

कहाँ चुक्यो सरकार ? 
‘कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै प्रदेशका ८८ वटै स्थानीय तहमा क्वारेन्टीन स्थापना गरियो । भारतबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टीनमा राखियो र परीक्षणपछि मात्रै घर पठाईन्थ्यो । तर साउन यता ८८ वटै स्थानीय तहमा तयार गरिएका क्वारेन्टीन हटाउनु सरकारको पहिलो कमजोरी थियो ।’ शिक्षाविद् हेमराज पन्तले भने, ‘भारतबाट आउनेहरू कम भइसकेका थिए, तत्काल क्वारेन्टीन हटाउनु हुन्थेन ।’ ‘त्यसपछि सरकारले होम क्वारेन्टीनको नीति अघि सा¥यो तर सबैले त्यसको पालना गर्न सकेनन्, कोरोना संक्रमणका सम्भावित व्यक्तिहरू खुलेआम गाउँ डुले, त्यसपछि समुदायमा पनि संक्रमण फैलियो’, उनले भने, ‘नीति अघि सारेपछि कार्यान्वयन पनि गराउनुपथ्र्यो ।’

‘कोरोना व्यवस्थापनमा सरकारले अर्बाैं खर्च ग¥यो तर त्यो अनुसारको प्रतिफल दिन सकेन, कोरोनाको नाममा धेरै ठाउँमा अनियमितता भए । प्रयोगशाला बढाईए, तर परीक्षण बढेन । आवश्यक जनशक्ति व्यवस्थापन गरी तत्काल परीक्षणको दायरा बढाएर आवश्यक नीति अवलम्बन गरी अघि बढ्नु पर्छ ।’ उनले भने ।

लापरवाही झन् बढ्यो, अब के गर्ने ?
भारतबाट आउनेहरू परीक्षण विनै घर गइरहेका छन् भने अर्कातिर संक्रमण पुष्टि भएकाहरू पनि खुलेआम गाउँ–शहर घुमिरहेका छन् । नागरिकस्तरबाट पनि लापरवाही निकै बढेको छ । सरकारी कार्यालयमा मात्रै हैन बजारका पसल पसलमा पनि भीड बढेको छ । धनगढीमा ठेलमठेल देखिने सर्वसाधारणहरूले न सामाजिक दुरी कायम गरेका देखिन्छन्, न त मास्कको प्रयोग नै प्रयोग गरेका हुन्छन् । दशैंका नाममा त झनै लापरवाही बढ्यो ।’ स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘दशैंको नजिता दुई साताभित्र आउँछ, लापरवाही निकै बढेको छ, अहिले नै आंकलन गर्न सकिने अवस्था छैन ।’

‘संक्रमण सुदूरपश्चिममा पूर्ण रूपमा नियन्त्रणमा पनि छैन र नियन्त्रण बाहिर गइसकेको पनि छैन, पर्ख र हेरको अवस्थामा छौं ।’ उनले भने, ‘अब आवश्यक जनशक्ति व्यवस्थापन गरेर परीक्षणको दायरा बढाउनुको विकल्प छैन ।’ ‘हामीले सवा एक लाख हाराहारीमा परीक्षण गरिसकेका छौं ।’  स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘हामी सक्दो प्रयासमै छौं । आवश्यक जनशक्ति व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं ।’ ‘लापरवाही निकै बढेको छ, अवस्था यस्तै रहे धनगढीमा पनि काठमाडौंको जस्तै स्थिति आउँछ । हामी फेरि समुदायस्तरमा पनि परीक्षणको तयारी छौं’, उनले भने ।