पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियाबाट पूर्वतर्फ करीब ८ किलोमिटरको दूरीमा खुटिया नदी छ । त्यो नदीको छेउमै जोशी टोल छ । त्यो टोल लगायत आसपासका स्थानीयको मुख्य आम्दानीको स्रोत नै खुटिया नदी हो । ३०–३२ परिवारको हाराहारीमा रहेका स्थानीय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नदी किनारमै संघर्ष गरिरहन्छन् ।
हरेक दिन दिउँसो चर्को गर्मीमा पनि खुटिया नदीको किनारामा गिट्टी कुट्नेहरूको चहलपहल देखिन्छ । खुटिया नदीमा ९ वर्षीया बालिकादेखि ८० वर्षका वृद्धवृद्धा समेत गिट्टी कुटिरहेका हुन्छन् । जोशी टोल लगायत खुटिया नदी आसपासका युवाहरू रोजगारीका लागि भारत जान्छन् भने बालबालिका र वृद्धवृद्धाको रोजीरोटी नदी किनारामा गिट्टी कुटेरै जुट्ने गर्छ । हजुर आमासँगै गिट्टी कुटिरहेका छत्र साउँदले भने, ‘दैनिक बिहान ६ बजे दिनभर हामी सबै यो नदी किनारामा गिट्टी कुट्छौं ।’ उनले बिहान ११ बजेपछि १ घण्टा खाना खान विश्राम लिने गरेको बताए ।
‘हामी मात्रै होइन, हाम्रो गाउँका सबै यहीँ आउँछन् गिट्टी कुट्न,’ छत्रकी हजुरआमा सीतादेवीले भनिन्, ‘हाम्रो त मुख्य आम्दानीको स्रोत नै यहीँ हो ।’ नाति छत्रलाई देखाउँदै उनले भनिन्, ‘यो ९ वर्षको हुने बेला यसको बुवा संसार छाडेर गयो । घरमा योभन्दा साना–साना यसका भाइबहिनी छन् । उनीहरूलाई पढाउन भनेर यसले ८ कक्षाबाट पढाइ छोडेर हामीसँगै गिट्टी कुट्दैछ ।’ दिनभर काम गरेर पनि साँझ–बिहानको छाक टार्न मुस्किल पर्ने गरेको नदीमा गिट्टी कुटिरहेकी फूलमाया थापाले बताइन् । ‘हामीले अरूको गिट्टी फुटाउने भए पो दिनभर गरेको कामको साँझ ज्याला पाइने थियो तर यो त हामीले आफ्नै ढुंगा संकलन गरेर गिट्टी फुटाइरहेका छौं । नबेचियो भने त खान लाउनै समस्या पर्छ ।’
कुटेको गिट्टी नबेचिँदा समस्या
‘दिनभर २ जनाले मेहनत गरेर गिट्टी कुट्दा पनि ५ बोराभन्दा बढी सकिँदैन,’ जोशी टोलकी पुष्पा कुँवरले भनिन्, ‘वैशाखदेखिको गिट्टी बेचिएको छैन ।’ गिट्टी १ घनमिटरको १२–१३ सय रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको बताउँदै अरुण साउँदले भने, ‘निकै मेहनतका साथ हामी घाम, पानी, भोक नभनेर काम गर्छौं तर कहिले त तयारी अवस्थामा राखिएको गिट्टी पनि नबेचिँदा निकै समस्या हुन्छ ।’
घरकै खाना खाएर गिट्टी कुट्दा मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने भएपनि यसपालिका गिट्टी बिक्री नहुँदा समस्या भएको नारायण बोहराले बताए । कोरोना भाइरसको संक्रमण फैलिएपछि विकास निर्माणका काम रोकिँदा आम्दानी हुनै छाडेको मजदुरहरूको गुनासो छ ।