‘सुशासनमा जोड दिउँ, समृद्धि आफैँ आउँछ’
2023/12/17, 3:44
 
dd

 सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले परिणाम देखिने गरी काम गर्न सक्नुपर्ने बताएका छन । आइतबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय सुशासन सहयोग कार्यक्रममा स्थानीय तहको स्वःमूल्याङ्न र वित्तीय जोखिम मूल्याङ्कन सम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री साउँदले सो कुरा बताएका हुन्। 

उनले राजनैतिक व्यवस्था परिवर्तनपछि जनताका इच्छा, आकाङ्क्षा स्वाभाविक बढेको सन्दर्भमा पुरानै ढर्राको काम गराइले सोचेजस्तो परिवर्तन आउन नसक्ने र व्यवस्थामाथि जनतामा असन्तुष्टि बढ्दै जाने खतरा रहेको बताए। उनले यस अवस्थामा जनताको नजिक रहेको स्थानीय तह र प्रदेश सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्ने भन्दै सुशासनमा जोड दिन आग्रह गरे ।

तीन तहकै जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो दायित्व र जिम्मेवारी बोधकासाथ सुशासनमा जोड दिए वित्तीय जोखिम कम हुने र समृद्धि आफैँ आउने उनको भनाइ छ । यस्तै, सुदूरपश्चिम सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालले संविधान र कानुनले निर्देशित काम गर्न कसैले कसैलाई नरोक्ने भन्दै समाजमा सकारात्मक परिणाम दिन सबैको साझा दायित्व रहेको बताए ।

तीन तहकै सरकारले विधि पद्धति र कानुनको ख्याल गरे वित्तीय जोखिममा कमी ल्याउन सकिने उनको भनाइ छ । कार्यक्रममा सहभागी स्थानीय जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले कार्य क्षेत्राधिकार स्पष्ट नहुँदा आफूहरू निष्क्रियझैँ बस्नुपरेको गुनासो गरेका थिए भने स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र सङ्घीय सरकारले कानुन नबनाउँदा आफ्ना केही एकल अधिकार पनि सही हिसाबले कार्यान्वयनमा ल्याउन गाह्रो भइरहेको बताए ।