आइतबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ३ सय ९३ जनाको परीक्षण गर्दा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ सय ९३ जनाको परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८२ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका र मोहयाल गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
कैलालीका ठेगाना नखुलेका २ जनामा पनि संक्रमण देखिएको छ । यस्तै कञ्चनपुरक भीमदत्त नगरपालिकाका ७ जना, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै अछामका ३ जना र डडेल्धुराको परशुराम नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ९१ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ भने कमलबजार नगरपालिकाको प्रयोगशालामा २० जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार २ सय ६५ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ३ सय जनाले कोरोना जितेका छन् भने ४० जनाको मृत्यु भएको छ ।