बाईडेनको जीतबाट नेपालीहरु उत्साहित 
2020/11/08, 11:41
 
biden

डेमोक्रेटिक उम्मेवार जो बाईडेन राष्ट्रपतिमा निर्बाचित भएपछि अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरु भने उत्साहित भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीप्रति कठोर र धनीहरु प्रति उनी उदार मानिन्छन । ट्रम्पले आफ्नो कार्यकालमा धनीहरुलाई करमा छुट गरेको र आप्रवासीप्रति कठोर नीति अपनाएको बताईन्छ । 

धनी र शहरीया मतदाता ट्रम्पप्रति झुकाव राख्थे । ग्रामिण क्षेत्रमा बसोबास गर्ने,आप्रवासी, तथा शहरी क्षेत्रमा काम गर्ने सामान्य आय भएका व्यक्तिहरुको झुकाव बाईडेन प्रति थियो । अमेरिकाको न्युयोर्कमा रहेका पत्रकार दिनेशजंग शाहले बाईडेनको जीतले आप्रवासीहरुलाई रोजगारीका अवसर र अमेरिका प्रवेशमा सहज हुनसक्ने बताए । अध्ययन, रोजगारी तथा कामका सिलसिलामा अमेरिका प्रवेश गर्न खोज्ने नेपालीहरुका लागि भीसा प्रकृया सहज हुनसक्छ, शाह भन्छन्, त्यतिमात्र होईन, यहाँ रोजगारी गरिरहेकाहरुको करमा समेत छुट हुन सक्छ । किनकी बाईडेन धनीभन्दा पनि मध्यमबर्ग प्रति उदार मानिन्छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट अमेरिकाको राष्ट्रपति डमोक्रेट वा रिपब्लिकन कस्ले जित्यो भन्ने कुराले उसको विदेश नीति तथा देश र जनताको सुरक्षासंग जोडिएको विषयमा खासै परिवर्तन नुहने बताउँछन् । तर बाइडेनको छवि उदार छ । उनी आप्रवासी प्रति नरम मानिन्छन, बिष्ट भन्छन्, नेपालीहरु पनि उनको उदार नीतिबाट लाभान्वित हुन सक्छन ।

भीसा प्रकृया सहज भए अमेरिका प्रवेश गर्ने नेपाली विद्यार्थीहरुको संख्या बढ्न सक्ने बिष्टको अनुमान छ । बिष्टका अनुसार डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा नेपालीहरु मात्र नभएर आप्रवासी तथा विद्यार्थीहरुको भीसा प्रकृया जटिल भएको थियो । उनी भन्छन्, अव यो प्रकृया सहज हुनसक्छ ।