कञ्चनपुरमा जुवाडेकाे ४ लाख लुट्ने ३ जना पेस्तोल सहित पक्राउ
2020/11/08, 5:57
 
lutera

कञ्चनपुरमा हतियार देखाएर जुवाडेलाई लुट्ने ३ जना पक्राउ परेका छन् । गत कार्तिकमा वेदकोट नगरपालिका वडा नम्बर ५ मा जुवाखालमा प्रवेश गर्दै हतियार देखाएर नगद र मोबाइल लुटेको आरोपमा कञ्चनपुर प्रहरीले ३ जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले नगद र मोबाइल लुट्ने वेदकोट नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पारसमणि जोशी, सोही वडा नम्बर १ का केदार भनिने केशव विष्ट र कृष्णपुर नगरपालिका  वडा नम्बर ५ का २६ वर्षीय दीपक भट्टलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट पेस्तोल, म्याग्जीन र २ राउण्ड गोली बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक सिहले बताए । यस्तै  से.६प २२६३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरिएको छ । उनीहरु गत कार्तिक १९ गते वेदकोट नगरपालिका वडा नम्बर ५ मा जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख ९५ हजार लुटेर फरार भएका थिए । लुटपाटमा संलग्न केही व्यक्तिहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।