अटो चलाएरै छोरालाई डाक्टर र छोरीलाई स्टाफ नर्स बनाउने गोमा
2020/11/09, 8:23
 
goma chaudhari

जीवन कालको ४२ औँ वर्षमा अटोचलाइरहेकी कञ्चनपुरकी गोमा डगौरा चौधरी अझै जीवन संघर्षमय बित्ने बताउँछिन् । जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उनको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरीसँग विवाह भयो, कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने उनमा निराशा छायो । एकातिर घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्तित भईन् उनी । आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती सामान्य साइकल बाट सुरु गरिन् । साइकलमा मालसामान बोक्दै १५ वर्ष उनले वितत गरिन् । सो अवधिमा दुई सन्तानकी आमा बनिसकेकी थिइन गोमा ।

साइकलमा मालसामान बोकेर विक्रेता कहाँ पु¥याउदै गर्दा उनका श्रीमानले सामान्य पसल समेत थापेका थिए । पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बाल जागृती विद्यालयमा भर्ना गरिन् । सरिताले प्रवेशिका परीक्षा बाल जागृती बाटै उत्तिर्ण गरेकी हुन् । छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडियण्ट माध्यामिक विद्यालयमा अध्ययनरत थिए । दुई सन्तानको अध्ययनको सिलसिला जारिरहेपछि उनले साइकलबाट मोटरसाइकलमा समेत मालसामान बोकिन् । कमाइको बचतबाट उनले ६ वर्ष पहिले अटो रिक्सा पनि खरिद गरिन् ।

दुई सन्तानको भविष्य उज्ज्वलको कामना सहित उनी निरन्तर काममा खटिइन् । लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गरिन् । उनले लोकसेवा मार्फत अनमीमा नाम निकालिन् । छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएको उनी बताउँछिन् । छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत रहेको उनी बताउँछिन । 

जीवनको सान्दर्भिकता अँगाल्दै उनले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोस् भन्ने चाहनाले अझै केही वर्ष अटो रिक्सा चलाउने बताएकी छन् । उनले भनिन– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागि अटो चलाउने पेशा अङ्गालेकी हुँ ।’ अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइ हुने गरेको उनी बताउँछिन् । अटोबाटै सन्तानलाई उच्चशिक्षादेखि जागिरे बनाउने सपना छिट्टै साकार हुने भन्दै उनले हर्ष व्यक्त गरिन् ।