सुदूरपश्चिमको प्रवेशद्धार चिसापानीमा जिप लाईन आकर्षणको केन्द्र बन्दै 
2020/11/09, 6:59
 
jeepline

कैलालीको चिसापानी स्थित कर्णाली नदीमा जिप लाइन सेवा सञ्चालनमा आएपछि पर्यटकहरूलाई लागि आकर्षणको केन्द्र बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार समेत रहेको कैलालीको चिसापानीमा जिप लाइन सेवा सञ्चालनमा आएपछि पर्यटकहरूको संख्या बढ्न थालेको छ ।

 जिप लाइनको अनुभव लिनको लागि पछिल्लो समय पर्यटकहरू चिसापानी पुग्ने गरेका छन् । त्यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरू समेत आएर आनन्द लिने गरेका छन् । सामाजिक सञ्जालमा भिडियो र फोटा देखेर आफू यो ठाउँमा आएको धनगढीका झलक दवाडी बताउँछन् । जिप लाईन सेवा कर्णाली नदिको किनारमा सञ्चालनमा ल्याइएको छ ।

 करिब १ सय ३० मिटर लामो लाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निमार्ण गरीएको छ । साहसिक खेल जिप लाइनको मज्जा लिन अहिले दैनिक पर्यटकहरूले भिड लाग्ने गरेको छ । पहिलो पटक नयाँ खेलका अनुभव लिएको काठमाडौँबाट चिसापानी पुगेका अपार विक्रम खाँडले बताए । छुट्टी मिलाएर पश्चिमतिर धुम्न आएको उनको भनाई छ ।

अहिले साहसिक खेल जिप लाइन अनुभव लिन दैनिक ५० देखि ६० जना आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । करिब १० लाख लागतमा २०७६ सालको माघ महिनाबाट जिप लाइन सेवा सञ्चालनमा ल्याईएको हो । एक व्यक्तीले एक पटक जिप लाईन गरेकोमा २ सय शुल्क तिर्नुपर्ने हुन्छ ।

मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ पितमारीको कर्णाली नदीको छेउमा जिप लाइन सञ्चालनमा ल्याइएको छ । केही वर्ष विदेश बसेका कैलाली लम्कीका युवा तपेन्द्र रावलले जिप लाइन सेवा सञ्चालनमा ल्याएका हुन् । चिसापानी एडभेञ्चर रिपोर्टले चिसापानी क्षेत्रमा घुम्न आउने पर्यटकहरू लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिप लाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए । 

जीप लाइन एक साहसिक मनोरञ्जनको माध्यम हो । जसमा एक ठाउँ बाट अर्को ठाउँ सम्म तारमा घिर्नीको सहायताले झुरिएर गुड्नु पर्ने हुन्छ । यसका लागि रिपोर्टले पूर्ण सुरक्षाको व्यवस्था गरेको छ । चिसापानी एडभेञ्चर रिपोर्टले जिप लाइनको साथै र्याटिङ्ग सेवा पनि दिँदै आएको छ । पछिल्लो समय कर्णाली नदीमा पर्यटन प्रर्बधनको लागि विभिन्न गतिविधिहरू हुँदै आएका छन् ।