सुदूरपश्चिमका ८० प्रतिशत संक्रमितले कोरोना जिते 
2020/11/10, 8:52
 
corona

सुदूरपश्चिम प्रदेशका ८० प्रतिशत कोरोना संक्रमितले कोरोना जितेका छन् । हालसम्म प्रदेशमा संक्रमितको संख्या १० हजार ५ सय ९६ पुगेको छ । सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा सोमबार ९ सय २० जनाको परीक्षण गर्दा थप १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९ सय २० जनाको परीक्षण गर्दा थप १ सय २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४१ जनाको परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाका २९, भजनी नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका २, २ जनामा संक्रमण पुष्टि भएको बताए । यस्तै ठेगाना नखुलेका कैलालीकै ३ जनामा समेत कोरोना पुष्टि भएको उनले जानकारी दिए ।


यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ७ जना र अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । डडेल्धुरा अस्पताल प्रयोगशालामा २ सय ३६ जनाको परीक्षण गर्दा ३७ जना, जिल्ला अस्पताल डोटी प्रयोगशालामा १ सय ९८ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

त्यसैगरी जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १ सय ९ जनाको परीक्षण गर्दा ९ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । जिल्ला अस्पताल बैतडी प्रयोगशालामा २० जनाको परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । 

कोरोना संक्रमितहरुमध्ये ८ हजार चार सय ८५ जना कोरोना जितेर घर फर्किएका छन् । सोमबार मात्रै ६ जना डिस्चार्ज भएका छन् । कैलालीबाट तीन कञ्चनपुरबाट दुई र बैतडीमा एक जना गरी ६ जनाले कोरोना जितेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कोरोना जित्नेको संख्या ८ हजार ४ सय ८५ पुगेको हो । यो कुल संक्रमितको ८० प्रतिशतभन्दा बढी हो । 

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म एक लाख १० हजार पाँच सय ३३ जनाको स्वाब परीक्षण गरिएको छ । चार सय ११ जनाको नमुना संकलन भईसकेको तर कोरोना परिक्षण हुन सकेको छैन । सुदुरपश्चिममा कोरोनाका कारण ४२ जनाको मृत्यु भईसकेको छ ।