भगवान भरोसामा सुदूरका कोरोना संक्रमित, ५० शैयाको अस्पतालमा ५१ जनाको उपचार हुँदै 
2020/11/10, 10:59
 
hospital

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थापना गरिएको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिभराउ भएको छ । प्रदेशमा गम्भिर प्रकृतीका संक्रमितको उपचार हुने एक मात्र अस्पताल भरिभराउ भएको हो ।  सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० शैयाको अस्थायी अस्पतालमा ५१ जना संक्रमितको उपचार भईरहेको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ५० शैया उपलव्ध रहेकोमा आईसियू वार्डमा थप एक शैया व्यवस्थापन गर्दै ५१ जनाको उपचार भईरहेको जानारी दिए । उनका अनुसार जनरल वार्डमा ३४ र १७ जना गम्भीर संक्रमितको आइसियूमा राखेर उपचार भइरहेको छ । 

जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्ष आईसीयू पनि भरिभराउ हुन थालेको छ । १० शैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पीक व्यवस्था गर्दै २० शैयाको बनाएको श्रेष्ठले बताए । तर अस्पताल भर्ना भएका १६ जना संक्रमितलाई आईसीयूमा राखेपछि थप गम्भिर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो । 

कोभिड अस्पताल संक्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भएपनि व्यवस्थापन गर्ने तयारी भईरहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरेपनि उपकरण विस्तारमा भने खासै चासो दिएको छैन् ।