सुदूरपश्चिममा बर्खेबालीको उत्पादन बढ्यो
2020/11/10, 1:03
 
corona

सुदूरपश्चिम प्रदेशमा बर्खेबाली उत्पादन उल्लेख्य रुपमा बढेको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष धान, कोदो, फापर, कागुनोको उत्पादन वद्धि भएको हो । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा २२ प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि भएको छ । निर्देशनालयले गत वर्षको तुलनामा ३७ हजार पाँच सय ४४ टन खाद्यान्न उत्पादन वृद्धि भएको छ । गत वर्षको बर्खामा सात लाख ४३ हजार ६४१ टन खाद्यान्न उत्पादन भएकोमा यस वर्षको बर्खामा सात लाख ८१ हजार ८५ टन खाद्यान्न उत्पादन भएको छ ।

गत वर्षको तुलनामा सुदूरपश्चिममा धान उत्पादन ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष छ लाख ३२ हजार ७८० टन धान उत्पादन भएकोमा यस वर्ष छ लाख ७० हजार ५०३ टन उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष पाँच सय ६१ टन कोदो बढी उत्पादन भएको छ । गतव र्ष १८ हजार २६१ टन कोदो उत्पादन भएकोमा यस वर्ष १८ हजार आठ सय २२ टन उत्पादन भएको छ । गत वर्षको तुलनामा फापर पाँच र कागुनो ११ टन बढी फलेको छ । यस वर्ष फापर दुई सय ७४ र कागुनो ६१ टन फलेको निर्देशनालयले जनाएको छ । गत वर्षको तुलनामा एक हजार १८८ हेक्टर कम जमिनमा धान खेती गरिएको थियो । कैलाली जिल्लामै धान खेती गर्ने सो जमिन घटेको हो । गत वर्ष प्रदेशमा एक लाख ८१ हजार हेक्टर जमिनमा धान रोपाइँ गरिएकोमा यस वर्ष एक लाख ८० हजार १४९ हेक्टर जमिनमा धान रोपिएको थियो ।

धान रोप्ने खेत घटेपनि ३७ हजार २३ टन धान बढी फलेको छ । प्रदेशमा धान रोप्ने खेतको उत्पादकत्व पनि ३।४९ बाट बढेर ३।७२ पुगेको छ ।कैलाली जिल्लामा धान खेतीको क्षेत्र घटेको भएपनि ६.३ प्रतिशतले धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा २० हजार २५ टन धान उत्पादन बढेको हो । गत वर्ष कैलालीमा तीन लाख २० हजार ९५ र यस वर्ष तीन लाख ४० हजार १२० टन धान फलेको छ । कैलालीमा मकैको २.६ र कोदोको ०.८ प्रतिशतले उत्पादन बढेको छ । 

प्रदेशमा सबै भन्दा बढी कञ्चनपुरमा ७ प्रतिशतले धान उत्पादन बढेको छ । गत वर्ष एक लाख ७४ हजार ३३ र यस वर्ष एक लाख ८६ हजार २१५ टन धान फलेको छ भने मकै उत्पादन ३ प्रतिशतले वृद्धि भएर चार हजार ८८६ टन उत्पादन भएको छ ।

प्रदेशको पहाडी जिल्ला मध्ये दार्चुलामा सबै भन्दा बढी ६।४ प्रतिशतले धान उत्पादन वृद्धि भएर ११ हजार दुई सय टन फलेको छ । दार्चुलामा ६.३ प्रतिशतले मकै उत्पादन पनि बढेर नौ हजार ४०१ टन फलेको छ । धान उत्पादन डडेल्धुरामा ३।३ प्रतिशतले वृद्धि भएर २० हजार ४२०, डोटीमा ३।६ प्रतिशतले वृद्धि भई ३१ हजार ७३, बैतडीमा ५ प्रतिशतले वृद्धि भई १८ हजार ४९, बझाङमा १.१ प्रतिशतले वृद्धि भई १४ हजार १२, बाजुरामा ३ प्रतिशतले वृद्धि भई १२ हजार ९१५ र अछाममा ४.८ प्रतिशतले वृद्धि भई ३६ हजार ४९८ टन धान फलेको छ ।

यस वर्ष धानलगायतका खाद्यान्नको उत्पादन वृद्धि हुनुमा प्रमुख कारण समयमा राम्रो वर्षा हुनु र किसानले उन्नत जातको बीऊको प्रयोग गर्नु रहेको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए । उनले क्षेत्रफल र वर्षाका कारण कोदो, फापर र कागुनो समेतको उत्पादन वद्धि भएको बताए । 

खुकुलो सरकारी बजेट, रासायनिक मलको आपूर्ति सहज हुँदै जानु तथा कोटा निर्धारण हुनु, कृषि उत्पादनमा प्रदेश र स्थानीय सरकारले अनुदानको व्यवस्था गर्नु, प्रविधिको प्रयोग बढ्नु, सिँचाइ सुविधा थपिँदै जानु, कृषि प्राविधिकको सेवा बढ्दै जानु, औषधि तथा उपचारको सुविधा बढ्नु र किसानहरुमा जागरुक हुँदै जानुले पनि खाद्यान्न उत्पादन वृद्धि हुनुको कारण रहेको निर्देशक जोशीले बताए ।

“कृषिमा सरकारी लगानी पनि बढेको छ,” निर्देशक जोशीले भने, “प्रदेश सरकारको बजेट कृषिका लागि एकदमै खुकुलो छ । प्रदेश र स्थानीय सरकारले पनि किसानहरुलाई अनुदान दिने, प्रविधि तथा उपकरण दिने, प्राविधिकको परामर्श सेवा उपलब्ध गराउने गरेका छन् । यसका साथै किसान पनि जागरुक भएका छन् । कुनै समस्या हुने वित्तिकै प्राविधिकसँग परामर्श लिन्छन् ।”

किसानहरुमा जागरुक हुनुका साथै प्रविधिको उपलब्धताका कारण फलफूल, तरकारीलगायतका नगदे बाली लगाउने गरेकाले हरेक वर्ष धानखेती लगाउने जमिनको क्षेत्रफल घट्दै भएको छ । किसानहरुले तरकारी, फलफूल, हल्दी, कागुनोलगायतका नगदेबाली लगाउन थालेकाले अहिले धानखेतीको क्षेत्रफल निरन्तर घटिरहेको निर्देशक जोशीले बताए ।

फौजी किराको कारण मकै उत्पादन घट्यो
यसपालीको बर्खे मकैमा फौजी किरा लागेकाले मकै उत्पादन घटेको छ । गत वर्षको तुलनामा सात सय ५६ टन मकै उत्पादन घटेको छ । निर्देशनालयका अनुसार गत वर्ष ९२ हजार २८१ टन मकै उत्पादन भएकोमा यस वर्ष ९१ हजार पाँच सय २५ टन उत्पादन भएको छ । यस वर्ष गत वर्षको भन्दा ४६ हेक्टर बढी जमिनमा मकै लगाइएको थियो । निर्देशक जोशीले मकै खेती क्षेत्रफल बढेपछि फौजी किराको आक्रमणले गर्दा करिब एक प्रतिशतले मकै उत्पादन घटेको बताए ।

अछाममा १२ प्रतिशतले मकै उत्पादनमा कमी आएर १४ हजार ७१४ टन फलेको छ । गत वर्ष १६ हजार ७१२ टन मकै फलेको थियो । यस वर्ष अछाममा मकै उत्पादनमा एक हजार नौ सय ९८ टन कमी आएको हो । बाजुरामा पनि फौजी किरा र हावाहुरीसहितको वर्षाले ६ प्रतिशतले मकै उत्पादनमा कमी आउँदा तीन सय ३५ टन कम फलेको छ । गत वर्ष पाँच हजार १८५ टन मकै फलेकामा यस वर्ष चार हजार ८५० टन फलेको छ ।