कैलालीका २८ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार १९५ जनाको परीक्षण गर्दा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २ जना, यस्तै वडा नम्बर ३, ७ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीकै गोदावरी नगरपालिकाका ५ जना र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ ।
उता डडेल्धुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।