धनगढीमा लक्षण भएका संक्रमितहरुको संख्या बढेसँगै शैय्या अभाव
2020/11/11, 2:37
 
corona

गम्भीर लक्षण भएका संक्रमितहरुको संख्या बढेसँगै सुदूर पश्चिमको राजधानी धनगढीमा शय्या अभाव देखिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेड संख्याभन्दा बढी बिरामी राख्नु परेको छ । कोरोना संक्रमितको उपचारको लागि भन्दै प्रदेश सरकारले १० बेड आईसीयू सहित ५० शैय्याको अस्थायी कोरोना अस्पतालमा स्थापना गरेको थियो । ५० शैय्याको अस्पतालमा ५५ जना कोरोना संक्रमित भर्ना भएका छन् ।

तत्काल थप गम्भीर लक्षण सहितका संक्रमित आए कहाँ राख्ने भन्ने कुनै टुङ्गो छैन । ‘हामीसँग भएका बेडहरू सबै भरिएका छन्’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अब संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या छ ।’ ‘महेन्द्रनगर पनि कोरोना अस्पताल छ । त्यहाँ पठाएर पनि उपचार गर्छाै’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले भने ‘टीकापुर वा नेपालगञ्ज पनि पठाउन सकिन्छ ।’

पूर्वतयारी कमजोर हुँदा अब आउने संक्रमितलाई कहाँ राख्ने भन्ने टुंगो छैन । अस्पताल व्यवस्थापन समितिले गम्भीर लक्षण भएका बिरामीलाई तत्काल टीकापुर, महेन्द्रनगर वा नेपालगन्ज पठाउने विषयमा छलफल गरिरहेको छ । ‘महेन्द्रनगर पनि कोरोना अस्पताल छ, त्यहाँ बेड खाली नै छ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त जोशीले भने, ‘टीकापुर वा नेपालगञ्ज पनि पठाउन सकिन्छ । सङ्क्रमितहरूको उपचारमा समस्या आउन दिन्नौं ।’

कोरोना अस्पतालसँगै रहेको होटेलमा पनि संक्रमित राख्ने विषयमा छलफल भइरहेको बताए । तर त्यहाँ राख्न चिकित्सक र उपकरण अभावमा सहज भने छैन । अस्पतालहरुमा वेड अभाव देखिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चासो देखाएका छन् । उनले सरोकारवालाहरूलाई मुख्यमन्त्री कार्यालयमै बोलाएर तत्काल ५० शैय्याको अर्काे कोरोना अस्पताल तयार गर्न निर्देशन दिएका छन् । ‘मुख्यमन्त्रीले महिनामै सम्पन्न गर्ने गरी अर्काे कोरोना अस्पताल तयार गर्न निर्देशन दिनुभएको छ ।’ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने ‘हामी अर्काे कोरोना अस्पताल निर्माणमा जुटिसकेका छौँ ।’